१४ बैशाख २०८१, शुक्रबार

जातीय विभेद हटाउन सहभोज

bhoj 749x375 1

छुवाछुतलाई निरुत्साहित गर्ने उद्देश्यले सोमबार सर्लाहीको हरिपुर नगरपालिका–७ चिताईन मुसहर बस्तीमा सहभोज गरिएको छ ।

कार्यक्रममा दलित र गैरदलितले सँगै बसेर भोज खाएका छन् । जी.पी. कोइराला फाउण्डेसन सर्लाहीका सभापति सुशील शर्माले समाजमा पुस्तौदेखि कायम रहेको जातीय विभेदलाई चुनौती दिँदै सहभोज कार्यक्रम आयोजना गरिएको बताए । फाउण्डेसनले गिरिजा प्रसाद कोइरालाको ९८औँ जन्म जयन्तिको अवसर पारेर तराईको अत्यन्तै पिछडिएको मुसहर बस्तीमा सहभोजको आयोजना गरेको हो । सहभोजमा गैरदलितसँग बसेर भोज खान पाउँदा स्थानीय मुसहर समुदाय दङ्ग परेका छन् । सहभोजमा सो बस्तीका ३२ परिवार मुसहर सहभागी भएका थिए । उनीहरुसँगै जी.पी. कोइराला फाउण्डेसनका जिल्ला सभापति शर्मा, नागरिक समाजका अगुवाहरु रजनिकान्त झा, शिवचन्द्र चौधरी, सुन्दर श्याम यादव, दलित अधिकारकर्मी राजेश पासवान लगायत भोजमा सहभागी भए ।

कार्यक्रमका वक्ताहरुले संविधानले समेत दण्डित गरेको जातीय विभेद अझै पनि समाजमा विकराल रुपमा रहेको भन्दै चिन्ता व्यक्त गरे ।