६ बैशाख २०८१, बिहीबार

‘नेपाल वायु सेवा निगम निजीकरण हुँदैन’

nepal airlines

नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने कुनै निर्णय नभएको महाप्रबन्धक डिमप्रकाश पौडेलले बताउनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निगममा रणनीतिक साझेदार भित्रयाउन अर्थ मन्त्रालयमा गरिएको प्रस्तावअनुसार निगमलाई निजीकरणमा लैजाने भन्ने चर्चाको खण्डन गर्दै उहाँले सञ्चालक समितिले त्यस्तो कुनै निर्णय नगरेको स्पष्ट पार्नुभयो ।
“रणनीतिक साझेदार भिœयाउन कम्पनी मोडलमा जानुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “त्यसको अर्थ निगममा व्यापारी ल्याउने भन्ने होइन । ”

निगमको संरचनात्मक परिवर्तन गर्दै उड्डयन क्षेत्रमा प्रतिस्पर्धी बनाउन सरकारले रणनीतिक साझेदार भित्रयाउने निर्णय गरेको थियो । सोहीअनुसार रणनीतिक साझेदारीको ढाँचा टुङ्गो लगाएर हुबहु मन्त्रालयमा पेस गरिएको पौडेलले जानकारी दिनुभयो । “निगम सुधार गर्ने प्रतिबद्धताबमोजिम विभिन्न विकल्पको अध्ययन गर्ने क्रममा कम्पनी मोडलमा सञ्चालन गर्नुपर्ने अवस्थामा प्रयोग हुने प्रबन्धपत्र नियमावलीको ढाँचा तयार गरी मन्त्रालयमा पेस गरिएको हो,” उहाँले भन्नुभयो । यस्तो ढाँचाको अर्थ निगमलाई निजीकरण गर्र्ने भन्ने नभएको उहाँले बताउनुभयो ।

यद्यपि निगम अहिले जुन परिस्थितिबाट गुज्रिइरहेको छ, त्यही अवस्थामा भने चल्न नसक्ने उहाँको बुझाइ छ । धेरै विकल्पमध्ये संसारभर चल्तीमा रहेको कम्पनी मोडल उपयुक्त हुने उहाँले बताउनुभयो ।

“तर अहिलेको जस्तो न्यून पुँजी र अत्यधिक कर्जा लिएर कुनै पनि हालतमा कम्पनी मोडलमा जानुहुँदैन,” उहाँले भन्नुभयो । पहिले कर्जा चुक्ता गरेर सम्पत्ति थप्दै रणनीतिक योजना बनाएर मात्र कम्पनी मोडलमा जानुपर्ने उहाँको भनाइ छ ।

ख्यातिप्राप्त वायु सेवा कम्पनीसँग मात्र रणनीतिक साझेदारी हुनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै उहाँले आफूअनुकूल व्याख्या गरेर सरकारको खिल्ली नउडाउन पनि आग्रह गर्नुभएको छ ।