१३ बैशाख २०८१, बिहीबार

विपक्षी दलको अवरोधका कारण बागमती प्रदेश सभा बैठक स्थगित

Bagmati pardesh sabs

बागमती प्रदेश सभाको आइतबारका लागि बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै स्थगित भएको छ ।

बैठक सञ्चालनका विषयमा दलहरूबिच सहमति नजुटेपछि स्थगित गरिएको हो । विनियोजन विधेयकमा असन्तुष्टि व्यक्त गर्दै शनिबार विपक्षी दलहरूले अवरुद्ध गरेको बैठक आइतबार दोस्रो पटकसम्म स्थगित भएको हो ।

आइतबार सभामुख सानुकुमार श्रेष्ठले दलहरूसँग छलफल गरे पनि बैठक बस्न सक्ने वातावरण बन्न नसकेपछि बैठक सोमबारलाई सारिएको प्रदेश सभाको सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेटसम्म पनि सहमति हुन नसकेपछि सोमबार दिउँसो १ बजेका लागि आव्हान गरिएको छ ।

बजेटमा विद्युतीय बस, सुरुङ मार्ग, विपद्को रकम स्थानीय तहलाई पठाउनुपर्ने, बजेट पुस्तिका लगायतमा असन्तुष्टि जनाउँदै शनिबार प्रमुख प्रतिपक्ष दल माओवादी लगायत विपक्षी दल कांग्रेस, विवेकशील, नेमकिपा, जसपा, राप्रपा लगायतले बजेटको विरोध गर्दै अवरोध गरेका थिए ।

प्रदेश सभामा केन्द्रमा देखिएको राजनीतिले गर्दा सदन नचल्ने अवस्था सिर्जना भएको हो । प्रदेश सभामा एमालेको एकल बहुमत रहेको छ । नेकपाको वरिष्ठ नेता माधव कुमार नेपाल समूहको सांसदहरूको साथ पाउँदा बागमती प्रदेशले बहुमतले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गरेको थियो ।