२६ बैशाख २०८१, बुधबार

नेपालमा असार २४ गतेबाट चिनिया खोप निरन्तर आपूर्ति हुने

Covid 19 coronavirus vaccine astrazeneca

नेपाल सरकार र चीनको बेइजिङस्थित साईनोफार्म कम्पनीसँग खोप खरिदको बारेमा सम्झौता भएको छ । पछिल्लो सम्झौताअनुसार असार २४ गते बाट खोप आपूर्ति सुरु भइ तत्पश्चात साप्ताहिकरुपमा विभिन्न चरण मार्फत खोप आपूर्ति गर्ने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउनेछ । सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए ३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनबाट खोप ल्याउनका लागि वाइड बडी जहाज बेइजिङ पठाउने तयारी गरिएको बताए । खोप लिएर निगमको जहाज भोलिपल्ट काठमाडौँ फर्किनेछ । महाप्रबन्धक पौडेलले भने, “चीनबाट खोप ल्याउन निगमलाई सरकारको निर्देशन भएबमोजिम तयारी गरिएको छ, खोपको मात्रा तथा उक्त खोप अनुदानको हो या खरिदको भन्ने अहिले खुलिसकेको छैन हामीले आफ्नो तयारी थालिसकेका छौँ ।” बुझिएअनुसार पहिलो उडानमा १० लाख मात्रा खोप ल्याउने गरी तयारीमा रहन निगमलाई निर्देशन दिइएको छ ।