१५ चैत्र २०८०, बिहीबार

बच्चा छाडेर विदेश जान खोज्ने महिललाई अनुमती नदिने रत्ननगरको निर्णय

ratnanagar

रत्ननगर नगरपालिकाको नवौं नगर सभा बजेट,नीति तथा कार्यक्रम सहित १७ वटा महत्वपूर्ण प्रस्ताब पारित गर्दै शुक्रवार समापन गरिएको छ ।

यही असार ६ गते सौराहामा उद्घाटन गरिएको नगर सभा अन्तर्गत विभिन्न चरणमा बजेट,नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी शुक्रवार समापन गरिएको हो । सो नगरपालिकाले आर्थिक बर्ष २०७८÷७९ को लागि एक अर्ब २६ करोडको बजेट पारित गरेको छ ।

नीति तथा कार्यक्रम अन्तर्गत १४ वटा नगरका र १३ वटा लागत साझेदारी गौरवको योजना समेत पारित गरेको छ । सो नगरपालिकाले आफुले जन्माएको बच्चा दुई बर्ष नहुँदै आमा,बुवा,सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जाने महिलालाई अनुमति नदिई सहित १७ बुँदे महत्वपूर्ण प्रस्ताब पारित गरेको छ । नगर सभाले वाल विवहा मुक्त,सडक मानब मुक्त नगरपालिका घोषणा गर्ने,जन्म,मृत्यु,विवहा,सम्बन्ध विच्छेद र बसाई सराई तोकिएको समय भित्र गरी पंजिकरणलाई व्यवस्थित गर्ने,नगर भित्र जग्गा प्लटिङ गरी घडेरी व्यवस्थापन गर्ने व्यक्ति वा संस्थाले नगरपालिकाबाट पूर्व अनुमती दिनु पर्ने,सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने,नगर सभाबाट पारित भएको बजेट शिर्षक र रकम सभाको अनुमतिमा मात्र शिर्षकान्तर गर्ने, पर्यटन प्रहरीको भवन निर्माण गर्न डेढ कठ्ठा जग्गा उपलब्ध गराउने, प्रस्ताब पारित गरिएको मेयर नारायण वनले जानकारी दिए ।

त्यसैगरी नगरपालिकाले पूर्वाधार निर्माण गर्दा भवनले चर्चेको जग्गा नगरपालिकाको नाममा ल्याउन प्रक्रिया सुरु गर्ने,नगरपालिकालाई आवश्यक ऐन,कानुन बनाई पछि अनुमोदन गराउने गरी लागु गर्ने,आगामी आर्थिक बर्षको काम गर्न कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने,वालमैत्री नगरपालिका घोषणा गर्न वाँकी रहेका वडाको कार्यप्रारम्भ गर्ने,हेरफेर भएका करका दर स्विकृत गर्ने,आगामी आर्थिक बर्षको आर्थिक विधेयक तथा विनियोजन विधेयक पारित गर्ने,कर्मचारीको तलवी प्रतिवेदन पासा गरी तलव भत्ता खुवाउने,कर्मचारीको दरबन्दी पुनराबलोकन गर्ने,नियमित गर्नुपर्ने बेरुजु नियमित गर्ने लगायतका प्रस्ताव पारित गरिएको मेयर वनले बताए ।

उपमेयर विमला दुवाडीले स्वागत मन्तव्य राखेको सो नगर सभामा सामाजिक विकास समितिका संयोजक केशव आचार्य,पूर्वाधार विकास समितिका संयोजक हरिकुमार श्रेष्ठ,आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराई,विधेयक मस्यौता समितिका संयोजक तिलकराज शर्मा,विपद् व्यवस्थापन समितिका संयोजक बलराम दाहाल,लेखा समितिका संयोजक राजन भट्टले विषयगत क्षेत्रहरुमा विनियोजित बजेटको वारेमा जानकारी गराएका थिए । नगर सभामा मेयर वनले विहीवार आएको बाढीले राजमार्ग देखि दक्षिण तर्फको क्षेत्रमा ठुलो क्षति भएको भन्दै पर्यटन र कृषि क्षेत्र मारमा परेको बताए ।

सयौ विगहा क्षेत्रमा रोपेको धान खेती बगरमा परिणत भएको भन्दै उनले सामुहित बीउ राखेर रोपाई गर्न किसानलाई सहयोग गर्ने बताए । रोपो हरियो भइसकेको थियो उनले भने एकै दिनमा आएको बाढीले बगर बनाइदियो । मेयर वनले किसानको जग्गा बाझो बस्न नदिने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा उपमेयर दुवाडीले बजेट,नीति तथा कार्यक्रमलाई सहि सदुपयोग गरेर नगर विकासको लागि एकजुट हुने बेला आएको बताइन । नगर सभामा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले सहजीकरण गरेका थिए ।