८ बैशाख २०८१, शनिबार

सार्वजनिक यातायातमा जोरबिजोर कायम गर्न व्यवसायी सहमत

bus
फाइल फोटो

निषेधाज्ञा अवधिभर सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली कायमै रहने भएको छ । विहीबार साँझ यातायात व्यवसायी र काठमाडौंका प्रमुख जिल्ला अधिकारी विचभएको छलफल पछि स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर जोरबिजोर प्रणालीमै यातायात सञ्चालन गर्ने सहमति भएको छ ।

हामीले स्वास्थ्यको दृष्टीकोणले निषेधज्ञाभर जोरबिजोर प्रणालीमै यातायात सञ्चालन गर्ने सहमति गरेका हौ, असार २१ गते पछिदेखि भने सबै गाडी चल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । व्यवसायीहरुले जोरबिजोर प्रणाली नमान्ने भनेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले छलफलबाटै समस्याको समधान निकालेका थिए ।

यता सरकारले २५ सिट क्षमताभन्दा माथिका मात्रै सवारी साधन चल्न पाउने व्यवस्था अव्यावहारिक भएको भन्दै यसलाई परिमार्जन गर्नुपर्ने माग गरेका छन् । महासचिव सिटौलाका अनुसार ११ लाख ७२ हजार सवारी साधनमध्ये २५ सिटभन्दा बढी क्षमताा सवारीसाधन १२ हजार मात्र रहेको बताउनुभयो । यीमध्ये नौ लाख २१ हजार मोटरसाइकल रहेको र बाँकी दुई लाख ३८ हजार २५ सिटभन्दा कम क्षमताा रहेको जानकारी दिनुभयो । बिहीबारको छलफलमा यातायात व्यवसायीसहित यातायात व्यवस्था विभाग, स्वास्थ्य मन्त्रालय, ट्राफिक प्रहरी, अन्य सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागितामा प्रमुख जिल्ला अधिकारीले छलफल गरेका थिए ।

जोरविजोर प्रणालीभन्दा पछि २५ सिटभन्दा बढी क्षमताका भएका सार्वजनिक यातायात मात्र सञ्चालन गर्न भनेकाले मजदुरहरु भोकै परेको भन्दै आपत्ति जनाएका थिए । सरकारले असार १५ गतेदेखि सार्वजनिक यातायात खुला गरेको थियो । महामारी पछि पहिलो र दोस्रो बन्दले यातायात व्यवसाय पूर्णरुपमा बन्द भएपछि ठूलो क्षति बेहोर्नुपरेको भन्दै सरकारले व्यवसायी र मजदुरहरुका लागि राहतको व्यवस्था गर्न उनीहरूले माग गर्दैै आएका छन् ।