१५ बैशाख २०८१, शनिबार

सुचारु हुँदै भिसा र वैदेशिक रोजगार सेवा

immigration depatment adhyagam

अध्यागमन विभागले शुक्रबारदेखि भिसा सेवा सुरु गर्ने भएको छ । निषेधाज्ञाका कारण गत जेठ ५ देखि बन्द रहेको भिसा सेवा सरकारले तोकेका मापदण्डको पालना गर्दै असार १८ गतेदेखि सुरु हुने विभागले जनाएको हो ।

गत वैशाख १५ सम्म नेपालको वैध भिसा भएका विदेशीको हकमा असार २४ गतेभित्र नेपालबाट प्रस्थान हुने भएमा निःशुल्क भिसा नियमित गरिने जनाइएको छ । विभागको सूचनामा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै निःशुल्क भिसा नियमित गरिने उल्लेख छ ।

यस्तै नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्न विभाग वा अन्तर्गतका कार्यालयमा आवेदन गरेमा विलम्ब शुल्क र जरिवाना नलिई भिसा नियमित गरिने पनि विभागको सूचनामा उल्लेख गरिएको छ ।

विभागका अनुसार असार २४ गतेपछि भिसा नियमित गर्न आउने र नेपालबाट प्रस्थान गर्ने विदेशीको हकमा भने नियमअनुसार भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना लाग्नेछ ।
यस्तै पर्यटक भिसाका लागि १५० दिनसम्म मात्र बस्न सकिने प्रावधान भएकामा यो वर्ष कोरोनाका कारण अवधि बढाएर २१० दिन बनाइएको छ । निषेधाज्ञाको अवधि १५० दिनमा गणना नहुने भएकाले पर्यटक भिसा अवधि बढाइएको हो ।

यसैगरी, वैदेशिक रोजगार विभागअन्तर्गतको काठमाडौँ वैदेशिक रोजगार कार्यालयले आगामी आइतबारदेखि नियमित सेवा प्रदान गर्ने भएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि भएको निषेधाज्ञामा हाल सातामा तीन दिन श्रम स्वीकृति प्रदान गर्दै आएको कार्यालयले आइतबार अर्थात् असार २० गतेदेखि नियमित रूपमा सेवा प्रदान गर्ने जनाएको छ ।

गत वैशाख २४ गतेदेखि केही समय कार्यालयले भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने सेवा बन्द गरिएको थियो । सरकारले निषेधाज्ञासँगै अन्तर्राष्ट्रिय उडान पनि खुलाउँदै लगेपछि कार्यालयले नियमित रूपमा श्रम स्वीकृति प्रदान गर्ने जनाएको छ ।

विभागले अहिले पनि बायोमेट्रिक भएका र अनलाइनबाटै पनि श्रम स्वीकृति लिन मिल्ने व्यक्तिहरूलाई अनलाइनबाटै सेवा लिन अनुरोध गरेको छ । बायोमेट्रिक नभएका र व्यक्ति स्वयं उपस्थित हुनैपर्ने कामबाहेक अन्य व्यक्तिलाई विभागले सेवा प्रदान नगर्ने पनि जनाएको छ ।

कार्यालयका अनुसार कार्यालयमा उपस्थित भएर भीडभाड गर्न पाइने छैन । कार्यालय जाने सबैले अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेछ ।