१५ चैत्र २०८०, बिहीबार

मनसुन सुरु भएयता विपत्मा परी ३३ जनाको मृत्यु

land grab
सांकेतिक तस्विर

मनसुन सुरु भएयता बाढीपहिरोलगायत विभिन्न विपत्तिमा परेर बिहीबारसम्म ३३ जनाको मृत्यु भएको छ ।

गत जेठ ३१ गतेदेखि यताको मनसुनी विपत्मा परेर ३० जना बेपत्ता भएका छन् भने अन्य ३० जना घाइते भएको गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । बुधबारदेखि मनसुनी वायु फेरि सक्रिय भएकाले थप क्षतिको सम्भावना बढेको छ ।

केन्द्रका प्रमुख दिलकुमार तामाङका अनुसार यस अवधिमा विपत्मा परेर ४७५ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । त्यस्तै ११२ घर आंशिक क्षतिग्रस्त भएका छन् । भौतिक क्षतितर्फ ३६ वटा सरकारी कार्यालय, छवटा सामुदायिक भवन र विद्यालय, २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल, जलविद्युत् आयोजना १३ वटा, काठको पुल पाँचवटा र दुईवटा वित्तीय संस्था प्राकृतिक विपत्तिका कारण क्षतिग्रस्त बनेको केन्द्रले औँल्याएको छ ।

जेठ २८ गतेबाट नेपालमा मनसुन भित्रिएको हो । त्यस अवधिदेखि यताको पाक्षिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भएका क्षतिको व्यवस्थापन र अबका दिनमा त्यसको न्यूनीकरणका लागि सामूहिक पहल गरिरहेको जनाएको छ ।
जेठ ३१ गतेदेखि असार १५ गतेसम्म बाढीले बगाएर १५, पहिरोमा पुरिएर ११ र भारी वर्षाका कारण एक जना गरी २७ जनाको मृत्यु भएको छ । सो अवधिमा ६७६ घरपरिवार विस्थापित हुन पुगेको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

सबैभन्दा बढी सिन्धुपाल्चोक र मनाङमा क्षति भएको प्राधिकरणले जनाएको छ । सार्वजनिक प्रतिवेदनअनुसार यी दुई जिल्लासहित मनसुनी प्रकोपका कारण देशका २६ जिल्ला प्रभावित बन्न पुगेका छन् ।

६८ स्थानमा पहिरो र ३३ वटा खोलामा बाढी आएको जनाइएको छ । मनसुनी विपत्का कारण देशका विभिन्न प्रमुख राजमार्ग अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ ।

विपत्मा परेकालाई केन्द्रबाट तत्काल राहत सामग्री उपलब्ध गराइएको छ । प्राधिकरणले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा एक हजार १२९ थान टेन्ट, तीन हजार थान त्रिपाल, प्लास्टिक सिट ६० थान, कम्बल १० थान, स्लिपिङ ब्याग १४४ थान, ब्लाङ्केट ८० थान, जेनेरेटर दुई थान, ग्याबिन तार पाँच सय थानलगायतका सामग्री पठाइएको छ ।

अझै केही दिन मनसुन सक्रिय

अबको केही दिन मनसुनी वर्षा नरोकिने छाँट ल्याएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् राजु प्रधानाङ्गले भन्नुभयो, “वर्षा हुने र केहीबेर रोकिने गर्दै लगातार तीन÷चार दिन निरन्तर यो क्रम जारी रहने देखिएको छ ।” तराई नजिक रहेको मनसुनी न्यून चापीय रेखा हलचल नगरी बसिरहेको छ । जसका कारण प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा वर्षा बढी भइरहेको छ ।