४ बैशाख २०८१, मंगलवार

युवा गाउँ पुगेपछि खनिए बाँझो खेत

doti

विगतदेखि बाँझो रहेका जमिनमा पनि यस वर्ष धानलगायतका खेती गरिएको छ । अन्य वर्षको तुलनामा यो वर्ष जिल्लामा धान रोपाइँ बढी भएको छ । डोटीमा यो वर्ष समयमै मनसुन शुरु भएका कारण ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
कोरोना महामारीका कारण शहरबाट घर आएका युवा गाउँमै रहेका कारण बाँझो जमिनमा रोपाइँ गरिएको छ । धान रोपाइँ तथा मकैलगायतका खेती गरिएपछि यहाँका खेत तथा डाँडाकाडाँ हरियाली देखिन थालेका छन् ।

सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल, राजपुरका अनुसार जिल्लामा कुल दश हजार ७१५ हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएकोमा हालसम्म कुल चार हजार ५०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । यहाँका उच्च पहाडी र पहाडी क्षेत्रमा धान रोपाइँ छिट्टै भएको निर्देशनालयले जनाएको छ । यहाँका ग्रामीण क्षेत्रका करीब धान रोपाइँ सकिएको छ भने पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्ला, घोलतडा लगायतका क्षेत्रमा रोपाइँ चलिरहेको छ ।

प्रदेशका अन्य आठ जिल्लाहरु कैलालीमा ५५, कञ्चनपुरमा ३५, अछाममा ४५ बाजुरामा ५५, बझाङमा ४५, बैतडीमा ४५, दार्चुलामा ६२, डडेल्धुरामा ६० प्रतिसत धान रोपाइँ सम्पन्न भएको छ । प्रदेशभरीका कुल एक लाख ८५ हजार ८४७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिदै आएको छ । यो प्रदेशमा हालसम्म ५८ हजार ३६८ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको बताइएको छ । सुदूरपश्चिम प्रदेशको धान उत्पादन हुने क्षेत्रफलको ४५.९५ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भइसकेको निर्देशनालयको तत्थ्याङकमा उल्लेख छ । यो वर्ष असार १५ अघि नै प्रदेशभरीमा ४५.९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको निर्देशनालय दिपायल राजपुरका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो । उहाँले यो वर्ष राम्रो धान उत्पादन हुने लक्ष्य लिइएको बताउनुभयो ।

यही असार १० गतेसम्म भएको रोपाइँको तुलनामा सुदूरपश्चिम प्रदेशमा यो वर्ष ८.४१ प्रतिशतले बढी भएको बताइएको छ । नेपालमा दुइ जिल्लामा बाहेक अन्य सबै जिल्लामा धान उत्पादन हुने गरेको छ । नेपालमा कुल १३० जातका धान उत्पादन हुँदै आएको निर्देशनालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा नौवटै जिल्लाका किसानले प्राय गरी मार्सि, थापाचिनी, गुर्रा, ठेसे, हंसराज र पालपाली धान लगाउदै आएका छन् । यहाँको प्रसिद्ध धान जोरायले बासमती डोटीको जोरायल क्षेत्रमा मात्रै लगाउने र उत्पादन हुने गरेको छ । यहाँका विभिन्न जिल्लामा अझैपनि धान रोपाइँ शुरु भइरहेकाले धान रोपाइँ प्रतिशत अझै बढ्ने निर्देशनालयको दाबी छ ।

जिल्लामा विशेषगरी असारको पहिलो सातादेखि साउनको अन्तिम सातासम्म रोपाइँ हुन्छ । रोपाइँको चहल पहलले गर्दा यहाँका गाउँघर निकै रमाइला भएका छन् । जिल्लाका फाँट क्षेत्रका खेतमा रोपाइँको चहलपहल निकै बढेको बडिकेदार गाउँपालिका–१ का किसान दानबहादुर कललेले बताउनुभयो । रासस