८ बैशाख २०८१, शनिबार

भोजपुरका युवा कोही टमाटर खेती गर्दे कोही खुर्सानी

agri
सांकेतिक तस्विर

कोरोना सङ्कट बढीरहँदा भोजपुरका युवाहरू भने कृषि पेशा थाल्दै व्यावसायिक बनेका छन् ।

भोजपुरमा युवाहरूले अहिले आफ्नै जग्गामा टमाटरका साथै अन्य तरकारी खेती लगाउन सुरु गरेका छन् । भोजपुर नगरपालिका वडा नम्बर ५ बोखिमका प्रकाशचन्द्र घिमिरे अहिले टमाटर र अन्य विभिन्न तरकारी खेतीमा व्यस्त देखिनुहुन्छ । घिमिरेले अहिले ५ रोपनी जग्गामा टमाटरका साथै कोपी,खुर्सानी लगायतको खेती सुरु गर्नु भएको छ ।

प्रकाशले भन्नुभयो, “मैले अहिले गाउँ मै व्यावसायिक टमाटरका साथै अन्य खेतीहरू सुरु गरेको छु, अहिले ५ रोपनीमा सुरु गरेको छु, अव क्रमिकरुपमा अझै बढाउने सोच राखेको छु ।” अव युवाहरू लाग्ने भनेकै कृषिमा हो ।जिल्लाका युवाहरूमा वैदेशिक रोजगारीमा जाने भन्दा पनि अहिले पछिल्लो समयमा गाउँमै मेहनत गर्न सकेमा केही गर्न सकिने रहेछ भन्ने धारणा जाग्न थालेको स्थानीय कृषक हर्क श्रेष्ठको भनाई रहेको छ । श्रेष्ठले भन्नुभयो,“ अहिले गाउँमा मात्र होइन, सदरमुकाम र आसपासमा समेत युवाहरूले व्यावसायिक खेती लगाउन सुरु गरेका छन् ।”

कोरोना लकडाउनका कारण अन्य व्यवसाय भन्दा कृषि व्यवसाय नै उत्तम भएकाले आफूहरू पनि अहिले सोही पेसामा लागेको कृषक कृष्ण कुमारी प्रधानले बताउनुभयो । कृषि पेसामा लाग्न सरकारी निकाय, स्थानीय तह र कृषि ज्ञान केन्द्रले उचित योजना र सहयोग गर्ने हो भने जिल्लामा अरू युवाहरू पनि कृषि पेसामा लाग्ने युवा कृषक निर प्रधान बताउनुहुन्छ ।