१३ बैशाख २०८१, बिहीबार

दुई सातादेखि साँफे–मार्तडी सडक खण्ड अवरुद्ध, स्थानीयलाई सास्ती

saphe martadi

बाजुराको मुख्य राजमार्गका रुपमा रहेको साँफे मार्तडी सडक खण्ड दुई सातादेखि अवरुद्ध बनेपछि स्थानीयलाई आवतजावतमा सास्ती भएको छ ।

गत हप्ता आएको अविरल वर्षाका कारण सडक खण्डको बार्जुगाड, सेरा, बल्दे, अम्कोट,दवारी लगायतका विभिन्न ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको हो । हरेक वर्ष वर्षा याममा अवरुद्ध हुँदै आएको साँफे–मार्तडी सडक खण्ड यसपालि भने जेठ महिनाबाटै पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

अवरुद्ध सडक खोल्नका लागि सडक डिभिजन कार्यालय अछामले स्काभेटर प्रयोग गरेर बेलातमाण्डौँ, बार्जुगाड, तापृसेरा लगायतका ठाउँहरूमा सडक मर्मत गरिसकेको र अहिले बल्दे नजिकै अम्कोटबाट साँफे–मार्तडी सडक खण्डमा खसेको पहिरो पन्छाउँदै सडकमा खसेका ठुला ढुङ्गाका कारण मर्मतमा ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अबको एक दुई दिनमा स्काभेटरले बल्देको पहिरो पन्छाएपछि सडक पूर्ण रुपमा सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी धनदेव साउदले बताउनुभयो ।