२० श्रावण २०७८, बुधबार

‘मेरो जस्तो दुःख अरूलाई नहोस्’ द्वन्द्वमा छोरा गुमाएकी आमाको पीडा

donda

नौमुले गाउँपालिका–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी हुनुभयो । उन्नाइस वर्षको उमेरमा विवाह गर्नुभएकी उहाँले लगातार चार सन्तान जन्माउनुभयो ।

छोराछोरी उमेर बढ्दै गएपछि जीवन अझ बढी सुखसमय हुन्छ भन्ने उहाँको सोचाइ थियो । जीवन सोचे जस्तो भएन, ३० वर्षकै हुँदा उहाँको खुसी दैवले खोस्यो । श्रीमानको मृत्यु भयो, एक छाक खाएर भए पनि छोराछोरी हुर्काउनुभयो । छोराछोरीको मायाले गर्दा उहाँले जवानीमै पति बिना एक्लो भएपनि अर्को विवाह गर्नु भएन । विसं २०५६ मा छोरा अमरको विवाह गरिदिनुभयो ।

उनीहरूबाट एक नातिनीको जन्म भएपछि केही सान्त्वना मिल्यो । त्यतिबेला माओवादी ‘जनविद्रोह’ उत्कर्षमा थियो । गाउँका तरुना तन्नेरीहरु माओवादीमा गएको खबर आइरहन्थ्यो । ‘मेरो पनि छोरालाई लाने पो हुन् कि ?’ भन्ने उहाँलाई डर लाग्यो । बुहारी दुई महिनाको सुत्केरी थिइन् । छोरा अमरबहादुरलाई माओवादीले नलैजाउन् भन्दै जिल्ला सदरमुकाम पठाउनुभयो । एक महिना जिल्ला सदरमुकाम बसेका अमर केही काम नपाएपछि घर फर्किए । घरमा गएको मौकामा उनलाई तत्कालीन माओवादीले घरबाटै अपहरण गरेर लगे । ‘‘म घरको भूइँ तलामा सुतेको थिएँ, छोराबुहारी माथिल्लो तलामा सुत्थे । राति आएर माओवादीले छोरालाई लिएर गएछन्” उहाँ भन्नुहुन्छ ।

छोराको चिन्ताले उहाँलाई सताइरह्यो । माओवादीबाट छुटाएर छोरालाई घर ल्याउन भन्दै नन्दकलीले रु आठ हजार रुपैयाँमा गोरु बेच्नु भयो । छोराको अवस्थाबारे उहाँले गाउँका जान्ने बुझ्ने सबैलाई सोध्नुभयो । माओवादीको स्थानीय नेतृत्वबाट एक÷दुई दिनपछि छोड्ने आश्वासन पाउनुभयो । छोरा आउने आशामा रहेकी नन्दकली धेरै दिन भोकै बस्नुभयो । छोरालाई केही नहोस् भनेर देवीदेवताको भाकलसमेत गर्नुभयो । उहाँको मनको इच्छा न देवीदेवताले बुझे । बरु उल्टै अपहरण भएको एक महिनापछि २०५९ मा साबिकको रानीवन गाविसमा माओवादीले अमरबहादुरको हत्या गरेको खबर आयो ।

एक्कासी छोराको हत्याको खबरले उनलाई ठूलो बज्रपात भए जस्तो भयो । एकपछि अर्को पीडा खेप्दै जानुभएको नन्दकलीसँग बाँच्नुबाहेक अर्को विकल्प थिएन । केही समयपछि बुहारीले पनि अर्को विवाह गरिन् । अब नातिनीलाई हुर्काउने जिम्मा पनि उहाँमाथि नै आइलाग्यो । अहिले तिनै नातिनी उहाँको बुढेसकालको सहारा बनेकी छन् ।

तत्कालीन समयमा बालुवाटार, सल्लेरी, कालिका, चौराठा र तोली गाविस माओवादीको आधार इलाका मानिन्थ्यो । सरकारको उपस्थिति नहुँदा माओवादीको एकलौटी राज थियो । उहाँसँग मरेको छोरा सझिनुको विकल्प रहेन । शान्ति सम्झौतापछि नेपाल सरकारले दिएको राहतसमेत बुहारीले आधा लगेको नन्दकली बताउनुहुन्छ ।

अहिले नन्दकलीलाई खाना लाउन समस्या छ । शारीरिक अवस्था कमजोर हुँदै गएको छ । उहाँ मुटु र मधुमेहसमेतको बिरामी हुनुहुन्छ । पैसा नहुँदा उपचार गर्न सक्नु भएको छैन । अहिले उहाँलाई छोराको सम्झनाले बढी नै सताउने गरेको छ । उहाँ भन्नुहुन्छ, ‘‘खै के भएको हो, वनमा न्याउली चरी कराउँदा पनि छोरा न्याउलीको भेष गरेर आयो कि जस्तो लाग्छ र स्वर सुन्नेबित्तिकै आँगनमा पानी राखिदिन्छु’’, उहाँले भन्नुभयो । जीवनमा दुःखैदुःख झेलेकी नन्दकलीको एउटै मात्र धोको छ, ‘देशमा फेरि युद्ध नहोस् । मेरो जस्तै अरू आमाले पिडा भोग्नु नपरोस् ।’ सशस्त्र द्वन्द्वका क्रममा दैलेखमा राज्य पक्षबाट सयाैँ व्यक्ति मारिएका छन् भने माओवादी पक्षबाट पनि धेरैले अकालमै ज्यान गुमाएका छन् । रासस