१६ चैत्र २०८०, शुक्रबार

सुजिताको हत्या भएको प्रमाणहरु फेला

IMG20210627124028 750x375 1

महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी बेपत्ता २६ वर्षीया सुजिता ठाकुरको हत्या भएको प्रमाणहरु फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले आशंका गरिएको खेतमा उत्खनन गर्दा सुजिताको हत्या भएको प्रमाणहरु फेला परेको हो । प्रहरीका अनुसार खाल्डोमा केश, रगतले रातो बनेको माटो र शरिरका विभिन्न अंग फेला परेको छ । हत्या गरिएर गाडेको शव गलाउन प्रयोग गरिएको नुन र खाद समेत भेटिएको छ । उत्खननमा संलग्न एक प्रहरी अधिकारीका अनुसार ४ फिट मात्र खाल्डो खन्दा धेरै प्रमाण भेटिएको छ । सुजिताको शव नै भेट्ने सम्भावना छ । शव भएको शंका गरिएको जग्गा सुजिताकै ससुराको रहेकोले शव हुन सक्ने शंका गरिएको महोत्तरी प्रहरी नायब उपरिक्षक प्रकाश विष्टले बताए । विष्टका अनुसार शव उत्खनन् गर्न खनिएको खाल्डोमा तन्नाको टुक्रा र रौं फेला परेको छ ।

मानव कंकाल भने फेला नपरेको महोत्तरी प्रहरीका प्रवक्ता समेत रहेको प्रहरी नायब उपरीक्षक विष्टले टुडेलाई बताए । फेला परेको प्रमाणलाई फोरेन्सिक ल्याबमा पठाउने तयारी भइरहको उनले बताए । फोरेन्सिक ल्याबको रिपोर्ट आएपछि मात्रै यकिन गर्न सकिने तर्क उनको थियो । ससुरा पतिराम ठाकुर र देबर रुपेश ठाकुर मिलेर आफ्नो बहिनी सुजिताको हत्या गरेको भाई शिवम पाण्डेले आरोप लगाए । उनले भने, ‘यसअघि पनि ज्यान मार्ने उदेश्यले निर्मतापूर्वक कुटपिट गरेका थिए । प्रहरीमा उजुरी परेपछि मिलापत्र भएको थियो ।’ उनका अनुसार पतिराम गाउँमा धनी कलाउँछन् । उनको डरले अगाडी कोही बोल्दैनन् । घटना लुकाउन पनि प्रहरीसँग सेटिङ मिलाएका थिए । अचानक प्रहरीले फोन गरेर उत्खनन गर्नुपर्छ भनेपछि धेरै खुशी भएँ ।

आश्चर्य पनि लाग्यो । जहाँ शंका थियो, हत्या गरेर त्यही गाडेको प्रमाणहरु भेटिएको छ । जेठ २० गतेदेखि बेपत्ता थिइन् सुजिता । सुरुमा उनको खोजीका लागि माइत पक्षले प्रहरी गुहारे । त्यसपछि ससुरा र देबरले हत्या गरेर बेपत्ता भनिरहेको भन्दै किटानी जाहेरी दर्ता गराउने प्रयास पनि गरे । तर प्रहरीले भने अनुसन्धान गर्न समेत चाहेका थिएनन् । दहेज र घरायसी विवादकै कारण बहिनीको हत्या उनकै ससुरा र देबरले गरेको भाई शिवम बताउँछन् ।

उनले भने, ‘मेरो भिनाजु सोझा मान्छे हुन् । विवाहमा हामीले दहेज दिएका छैन । त्यसका कारण बहिनीको देबर र ससुराले पटक पटक मानसिक यातना दिदै आएको थियो ।’ घटनाको अनुसन्धान हुन्छ र अपराधीलाई कानूनी कारबाही हुन्छ भन्ने विश्वास नै गुमाइसकेका पीडित परिवारमा पुनः न्याय पाउने आशा जागेको छ । महिला अधिकारकर्मी गुञ्जा राय र सामाजिक अभियन्ता सरोज रायले घटनाको अनुसन्धानका लागि पहल गर्न मधेसी आयोगमा निवेदन दिएका थिए । आयोगले तत्कालै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएपछि उत्खनन गर्न पुगेको बुझिएको छ ।