१२ बैशाख २०८१, बुधबार

जारी निषेधाज्ञा थप खुकुलो, सार्वजनिक यातायात जोरबिजोर चल्न पाउने

lockdown nepal
फाइल फोटो

आज रातिबाट जारी निषेधाज्ञाको अवधि सकिन लागेको बेला काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप र काठमाडौ उपत्यकामा जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय गरेको छ । सो कुराको जानकारी ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

भोलिदेखि लागु हुने गरि उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस स्वास्थ्यका मापदण्ड पालना गरेर चल्न पाउनेछन् । साथै बसमा सेनिटाइजर अनिवार्य राख्नुपर्नेछ भने सिटमा यात्रुको दूरी राख्नुपर्नेछ । आज बसेको बैठकले आर्थिक गतिविधि चलायमान हुने गरी निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो ।

यसैगरी बैंक, वित्तीय क्षेत्र, फेन्सी, भाँडा पसललगायत व्यवसाय समय तोकेर यस अघि खुलाउन दिइएको थियो ।किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल बिहान खुल्दै आएका छन् । निजी सवारी साधनलाई जोर बिजोर प्रणालीमा चल्दै आएका छन् ।विस्तारै कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सबै क्षेत्र खुला हुनेछ ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि आज राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो । थप निषेधाज्ञामा सवै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस,डान्सबार, दोहोरी, नाजघर, चिडियाखाना, रगंशालामा हुने दर्शकसहितको खेलकुद र मानिसकोहरुको भीडभाड हुने अन्य सवै प्रकारका कार्यक्रम सञ्चालनमा गर्न रोक लगाइएको छ ।