१४ बैशाख २०८१, शुक्रबार

मौसम अपडेट : कतै सामान्य र कतै ठूलो वर्षा हुने सम्भावना

WEATHER rain

अहिले प्रदेश एक र दुईमा हल्कादेखि मध्यम वर्षा भइरहेको  छ । बाँकी प्रदेशहरुमा भने मौसम आंशिकदेखि पूर्ण बद्ली रहेको छ । आज दिउँसो देशभर बद्ली भइ कतै सामान्य र कतै ठूलाे पानी पर्ने सम्भावना छ । आज दिउँसो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मध्यम खालको वर्षा हुने मौसमविद् मन्जु बासीले बताउनुभयो ।

प्रदेश एक, दुई र लुम्बिनी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । आज राति भने प्रदेश एक र वाग्मतीमा भने ठूलो पानी पर्ने सम्भावना रहेको छ । हिजो अस्तिको तुलनामा आज पानी कम पर्ने मौसमविद् बासीको भनाइ छ । पर्सिदेखि भने फेरि मनसुन थप सक्रिय भएर ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

यसैबीच, यो हप्ता देशका धेरै ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । प्रदेश-१ र २ तथा वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको  मौसमविद् मन्जु बासीले बताउनुभयो ।

हप्ताभरि नै यी प्रदेशहरुमा समान्यदेखि पूर्ण बद्ली हुनेछ भने हल्कादेखि ठूलो पानी पर्नेछ । बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्लीको सम्भावना छ । यी प्रदेशमा हप्ताको  सुरु तथा मध्यमा थोरै ठाउँमा र अन्त्यतिर केही ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी/हिमाली भूभागका केही ठाउँहरुमा हिउँ पर्ने पनि सम्भावना देखिएको छ ।