१४ बैशाख २०८१, शुक्रबार

गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

Bishnu poudel

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरेका छन्। सर्वोच्च अदालतले २० जना मन्त्रीलाई पदमुक्त गरेपछि रिक्त रहेका मन्त्रालयमा प्रधानमन्त्रीले आफूसहित अन्य चार जना मन्त्रीलाई मन्त्रालय बाँडफाँड गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो भागमा रक्षा र परराष्ट्र मन्त्रालय राखेका छन् । त्यस्तै उनले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई थप तीन वटा मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

पौडेलले अर्थसहित, गृह, उर्जा र उद्योग मन्त्रालयको जिम्मेवारी पाएका हुन् । साथै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई स्वास्थ्य, वन र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने लिलानाथ श्रेष्ठलाई कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

mantriparisad 1