६ बैशाख २०८१, बिहीबार

नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिज स्थगित

cricket
फाइल फोटो

स्पेनमा हुने भनिएको आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्पेनमा हुने भनिएको नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिज स्थगित भएको छ।

कोभिड–१९ का कारण स्पेनमा तय भएको उक्त सिरिज एक वर्षका लागि स्थगित भएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । उक्त सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अनुसार नामिबियामा कोरोना भाइरसले स्थिति असहज भएपछि सिरिज स्थगित गर्नु परेको हो। 

नेपाली क्रिकेट टिम स्रोतका अनुसार नामिबिया क्रिकेट टिमका ४ भन्दा बढी खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको हिजो बुधबार खबर आएको थियो। जसका कारण नेपाली टिम सिरिज हुनेमा ढुक्क थिएन। 

क्यानका सचिव प्याकुरेलका अनुसार सिरिज सन् २०२२ जुलाईसम्मका लागि स्थगित भएको छ । उक्त प्रतियोगिताका लागि नेपालले यही असार ८ गतेदेखि बन्द प्रशिक्षण शुरु गरेको थियो ।

आइसिसीका अनुसार यो सिरिज आगामी २०२२ जुलाई मा हुनेछ।

सिरिज आगामी साउन ५ बाट सुरु भएर साउन १५ मा सकिने तय थियो। सिरिजका लागि नेपाली टिमले बुधबारदेखि प्रशिक्षण सुरु गरेको थियो।

यसअघि स्कटल्यान्डमा हुने तय भएको सिरिज कोरोना भाइरसका कारणका त्यहाँ लगाइएको यात्रा प्रतिबन्धका कारण स्पेनमा सिरिज गर्ने निर्णय भएको थियो।

‍स्कटल्यान्डले नेपाललाई रेड जोनमा राखेपछि त्यहाँ पुग्न खेलाडीहरुलाई समस्या हुने भएपछि लिग स्पेनमा गराउने निर्णय भएको थियो।

सिरिज दक्षिण स्पेनको डेजर्ट स्प्रिङ्ग्स मैदानमा हुने तय थियो। यो मैदानले केहीअघि मात्र एकदिवसीय मैदानको मान्यता पाएको थियो। त्यसैले नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिज स्पेनमा हुने पहिलो एकदिवसीय खेल हुँदै थियो।

कोरोना भाइरसका कारण लिग-२ का अधिकांस खेल प्रभावित भएका छन्। स्थिति सहज भएको अवस्थामा यो सिरिज गत वर्ष नै स्कटल्यान्डमा हुने तय थियो।

प्रत्येक टिमले ९ सिरिज खेल्नु पर्ने लिग-२ मा नेपालले अहिलेसम्म एक सिरिज मात्र खेलेको छ। २०७६ फागुनमा नेपालमा भएको सिरिजमा नेपाल, अमेरिका र ओमानले प्रतिस्पर्धा गरेका थिए।

सिरिजमा नेपालले दुई खेलमा जित हात पारेको थियो। नेपालले अमेरिकालाई दुवै खेलमा हराउँदा ओमानविरुद्धको दुवै खेल गुमाएको थियो।

लिग-२ मा नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी र युएई गरी ७ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।

लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । लिगमा नेपालले चार खेलमा चार अङ्क जोडेको छ । नेपाल छैटौँ स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । बाह«खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।