१७ बैशाख २०८१, सोमबार

‘कृष्णगोपाल श्रेष्ठ मन्त्री पदमा बस्न अयोग्य’

krishna gopal shrestha
फाइल फोटो

जातीय विभेदका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई हिरासतबाट छुटाउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमा बस्न अयोग्य भएको विवेकशील साझा पार्टीले बताएको छ। दण्डहीनतालाई प्रश्रय दिने मन्त्री श्रेष्ठ पदमा बसिरहन अयोग्य रहेको पार्टीले बताएको हो ।

‘कानुनतः दण्डनीय र सामाजिक रूपमा पूर्णतः अस्वीकार्य जातीय विभेदसँग जोडिएको भनिएको सो घटनाको गाम्भीर्यता मनन गर्न नसक्ने र राज्यशक्तिको दुरुपयोग गर्ने मन्त्री श्रेष्ठ उक्त पद बसिरहन नैतिक रूपमा अयोग्य साबित भइसकेका छन्,’ पार्टीको विज्ञप्तीमा उल्लेख भनिएको छ ।

विज्ञप्तिमा जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई जमानतमा छुटाउन संघीय सरकारका मन्त्री प्रहरी कार्यालय गएको र जसका कारण अनुसन्धान नै प्रभावित भएको भन्दै सार्वजनिक विवरणहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

आरोपित व्यक्तिले जातीय विभेद गरे नगरेको निष्पक्ष छानबिन हुने सुनिश्चित गर्दै सरकार स्वयं वादी भएर मुद्दा लड्नुपर्नेमा मन्त्री कृष्णगोपाल श्रेष्ठ उल्टै झन्डावाल गाडीमा प्रहरीकहाँ पुगेर अनुसन्धान प्रभावित पार्नु कदापि स्वीकार्य हुन नसक्ने पार्टीले आपत्ती जनाएको छ ।

काठमाडौंमा घर भाडामा लिने।दिने प्रक्रियामा आफूमाथि जातीय विभेद भएको भनी दिइएको उक्त जाहेरीको गम्भीर र निष्पक्ष छानबिन अघि बढाउन पार्टीले सरकारसँग माग गरेको छ ।

‘कानुनले छुवाछुतलाई दण्डनीय बनाएको ६ दशक भई सक्दा पनि समाजमा जात व्यवस्थाका आधारमा भेदभाव कायमै रहनु र कैयन अवस्थामा राज्यका विभिन्न तहका व्यक्तिहरूबाटै विभेदलाई प्रश्रय मिल्ने गरी कामकारबाही हुनु गम्भीर चिन्ताको विषय हो।’ विज्ञप्तिमा उल्लेख छ।

राज्यशक्तिको दुरुपयोग गरेको भन्दै श्रेष्ठलाई पदबाट बर्खास्त गर्न एमालेकै भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले सरकारसँग माग गरेको छ ।

संचारकर्मी रूपा सुनारलाई कोठा दिने सहमति गरिसकेर जात थाहा पाउनासाथ बहिष्कार गरेको अभियोगमा पक्राउ परेकी काठमाडौँ बबरमहलकी घरधनी सरस्वती प्रधानलाई बुधबार मन्त्री श्रेष्ठ आफैं महानगरीय प्रहरी वृत्ति (सिंहदरबार) पुगेर हिरासतमुक्त गराई आफ्नो झण्डावाल गाडीमै लिफ्ट लिएर घर पुर्‍याएका थिए ।

aago Copy 1 2 638x768 1