१५ बैशाख २०८१, शनिबार

गाउँकै विद्यालयमा प्राविधिक शिक्षा, विद्यार्थीलाई सहज

mahima mabi syangja 1

गाउँकै विद्यालयमा प्राविधिक विषयमा पढाई हुने भएपछि स्याङ्जाको हरिनाश गाउँपालिका र आसपासका विद्यार्थीलाई सहज हुने भएको छ ।

प्राविधिक शिक्षाको महत्त्व बढ्दै जान थालेपछि गाउँपालिकाको चिसापानीमा अवस्थित महिमा माध्यमिक विद्यालयले बाली विज्ञान विषय अध्यापन गराउने भएको हो ।

यसै शैक्षिक सत्रबाट प्राविधिक धार तर्फको अध्यापन सुरु गर्ने तयारीमा रहेको यो विद्यालयले २ जना प्रशिक्षकलाई समेत नियुक्त गरिसकेको छ । विद्यालयका प्रधानाध्यापक राजु शर्माले कक्षा ९ देखि १२ सम्मका बाली विज्ञान विषयमा अध्यापन गराउने तयारी भइरहेको बताउनुभयो । शर्माले यो विषय अध्ययन गर्नका लागि जिल्लाको हरिनाश र बिरुवा गाउँपालिकाका २१ विद्यार्थी भर्ना भइसकेको जानकारी दिनुभयो ।

विद्यार्थी सङ्ख्या बढाउन यति बेला विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीहरू प्राविधिक शिक्षाको महत्त्व बारेमा जानकारी दिँदै घरदैलो कार्यक्रम गरिरहेका छन् । विद्यालयले छिमेकी पालिकाहरू तनहुँको भिमाद र शुक्लागण्डकी तथा स्याङ्जाको चापाकोट नगरपालिकाबाट पनि विद्यार्थीहरू अध्ययनका लागि आउने विश्वास लिएको छ ।

प्राविधिक विषय अध्यापन गराउन आवश्यक पर्ने आर्थिक सङ्कलनका लागि विद्यालयले २०७५ कार्तिक ५ देखि १२ गतेसम्म महायज्ञसमेत लगाएको थियो ।