४ बैशाख २०८१, मंगलवार

देउवालाई सभापतीमा रोक्न दौडधुप,विमलेन्द्र, शशांक र प्रकाशमानको ‘लन्च मिलिङ’

bimalendra prakshman sasank meeting 20210621103105

नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर देउवाले फेरि पनि आफूलाई पार्टी नेतृत्वमा अघि सार्नेगरी छलफल चलाएका छन् भने उनकै समूहमा रहेका हालका उपसभापति विमलेन्द्र निधिले पनि पार्टी नेतृत्वका लागि दौडधुप सुरु गरिसकेका छन् ।

विमलेन्द्र, शशांक र प्रकाशमानको ‘लन्च मिलिङ’

सभापति देउवाले शनिबार, आइतबार र सोमबार बूढानीलकण्ठस्थित निवासमा आफू निकट नेताहरूलाई बोलाएर आगामी १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने भन्दै नेताहरूलाई सोहीअनुसार वातावरण बनाउन भनिसकेका छन् ।

शनिबारको छलफलमा पुगेका उपसभापति निधिले भने देउवालाई ‘तपाईं आराम गर्नुस्, मलाई सघाउनुस्, म तपाईंकै समर्थनमा सभापति लड्छु,’ भन्दै मुख खोलेका छन् ।

त्यति मात्रै होइन सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूसँग देउवाले बूढानीलकण्ठमा आफूनिकट नेताहरूसँग महाधिवेशन तयारीबारे छलफल गर्दै गर्दा निधिले कांग्रेसको संस्थापक नेताहरू बीपी कोइराला पुत्र डा। शशांक कोइराला र गणेशमान सिंह पुत्र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई निवासमा बोलाएर ‘लन्च मिटिङ’ नै गरे । निधि भने कांग्रेसका संस्थापक मध्येकै एक नेता महेन्द्र नारायण निधिका पुत्र हुन् ।

निधिले सोमबार आफ्नो वैवाहिक वार्षिकोत्सव पारेर नेताहरूलाई घरमा नै बोलाएर समसामयिक राजनीतिक अवस्था र पार्टीको महाधिवेशनबारे ‘लन्च मिटिङ’ गरेको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

‘उहाँहरूबीच लन्चसहितको मिटिङ भयो, उपसभापतिज्यूले पूर्वमहामन्त्री र वर्तमान महामन्त्रीज्यूहरूलाई बोलाएर समग्र विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्नुभयो, महाधिवेशनको विषयदेखि आगामी निर्वाचनसम्मका विषयमा छलफल भएको छ,’ उपसभापति निधिका प्रेस सल्लाहकार दाहालले भने ।

तीन नेताहरूबीच कोभिड संक्रमण, सिन्धुपाल्चोकसहित देशका विभिन्न स्थानमा बाढी पहिरोले पु¥याएको क्षति, कांग्रेसको १४औं महाधिवेशन, आगामी प्रतिनिधिसभा निर्वाचन र विपक्षीदलको गठबन्धनबाट प्रधानमन्त्रीका लागि उम्मेदवार बनाइएका सभापति देउवालाई प्रधानमन्त्री बनाउनेलगायतका विषयमा कुराकानी भएको दाहालले ।जानकारी दिए ।

यसअघि तीन नेताबीच गत ३ र ४ असारमा सम्पन्न केन्द्रीय समिति बैठकपछिसमेत पार्टी केन्द्रीय कार्यालयमा नै छलफल भएको थियो । सोमबारको छलफलपछि भने तीन नेताहरूबीच समान धारणा बनाएर अघि बढ्ने विषयमा सहमति बनेको छ । निधिले आगामी महाधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व छान्नेगरी धारणा बनाउने विषयमा नेताहरूलाई एक ठाउँ राख्न खोजेका बताइन्छ ।

यसैगरी, आफ्ना धारणा जिल्ला सभापतिहरू तथा केन्द्रीय सदस्यबीच लैजाने विषयमा पनि तीन नेताहरूबीच सहमति भएको दाहालले जनाएका छन् । यसअघि २ असारमा नेता निधिले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उनकै धुम्बाराहीस्थित निवासमा पुगेर भेटेका थिए भने गत शनिबार नेता बलबहादुर केसीलाईसमेत उनकै निवास पुगेर भेटेका थिए । निधि आगामी महाधिवेशनमा आफैं पार्टी नेतृत्वका लागि अघि बढ्नेगरी छलफल र भेटघाटलाई अघि बढाएका हुन् ।

तीन नेताहरूले अब वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री सिटौलासहित पार्टीको नेतृत्वका आकांक्षी रहेका नेताहरूसँग छलफल गर्ने सहमतिसमेत गरेका छन् । राजधानी दैनिकबाट