१३ बैशाख २०८१, बिहीबार

भ्याकेटमा जाने निर्णयले एकता भंग गर्ने नियत स्पष्टः माधवकुमार नेपाल

madhav kumar nepal
फाइल फोटो

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको संस्थापन पक्षले नै एकता भंग गर्ने खालका गतिविधि गरिरहेको आरोप लगाएका छन् । प्रदेश सांसदहरुमाथि गरिएको कारवाही अदालतले उल्टाएपछि फेरि भ्याकेटमा जाने निर्णयले पार्टी एकतालाई भंग गर्ने दिशामा लैजान खोजिएको प्रष्ट हुने उनको भनाइ छ ।सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपालले भनेका छन्, ‘स्थायी कमिटीका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।

सत्ता जोगाउनका लागि संविधान विरोधि र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने कुराले एकतावद्ध पार्टी बनाउने प्रयासविरुद्ध लागेको सहजै देख्न सकिने टिप्पणी उनको छ । नेपालले भनेका छन्, ‘असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गराउँछु ।’