१५ बैशाख २०८१, शनिबार

शहीद पार्कमा स्व- रवीन्द्र अधिकारीको पूर्णकदको शालिक अनावरण

rabindra adhikar salik 1

ताप्लेजुङको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ ।

अघिल्लो वर्ष फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पूर्णकदको शालिक आज अनावरण गरिएको हो ।

पोखरा महानगरपालिका–१८ जामुनबोटमा बन्दै गरेको सहिद पार्कमा उनको शालिकको अनावरण गरिएको हो । अधिकारीको फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

राष्ट्रिय विभूति तथा शहीद उद्यान व्यवस्थापन समितिद्वारा निर्मित स्व अधिकारीको शालिक सहिद पार्कको पूर्वी भागमा ठडिएको पूर्ण कदको रंगीन शालिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमान, उनकी धर्मपत्नी विद्या भट्टराई, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी लगायतले शालिकको अनावरण गरेका हुन् । अन्य सहभागीहरुले पनि शालिकमा माला अर्पण गरेका थिए ।

rabindra adhikar salik 1

उनको शालिकको माथिपट्टी हेलिकप्टरको डमी पनि स्थापना गरिने छ । सुर्खेतका कलाकार तिलबिर सुनार सेन्चुरीले रवीन्द्रको मूर्ति तयार पारेका हुन् ।

६ महिना लगाएर उनले यो मूर्ति तयार पारेका थिए । सो अवसरमा कलाकार तिलबिरलाई प्रमाणपत्रसहित माला लगाएर सम्मान पनि गरिएको थियो ।

उद्यान परिसरमा गण्डकी प्रदेश सरकारले शालिकसहितका संरचना निर्माणका लागि रु १५ लाख उपलब्ध गराएको हो ।

कार्यक्रममा सहभागी वक्ताहरुले रवीन्द्रले छोडेका सपनाहरुलाई पछ्याउने प्रतिबद्धता गरेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले समृद्धि र विकासका लागि अधिकारीले देखाएको बाटो सबैका लागि अनुकरणीय भएको बताए । उनका अधुरा सपनालाई साकार पार्नु हामी सबैको साझा कर्तव्य भएको बताउँदै उनले विकासप्रेमी नेताका रूपमा अधिकारीको स्मरण गरे । जनप्रतिनिधि जनता र मुलुकका पक्षमा क्रियाशील हुनुपर्नेमा जोड दिँदै उनले चुनावमा गरेका प्रतिबद्धतालाई आत्मसात गर्नुपर्ने बताए ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले स्व अधिकारीले देखाएको बाटोलाई आत्मसात गर्न सके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।

महानगरपालिका–१८ का वडाध्यक्ष एवं राष्ट्रिय विभूति तथा शहीद उद्यान व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव लक्ष्मण तिमिल्सिनाले उद्यान पोखराको पर्यटन प्रवद्र्धनमा सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

चोकका शालिकलाई पार्कमा राख्ने योजना अनुसार बनिरहेको सहिद पार्क आउँदो आर्थिक वर्षमा तयार पारिसक्ने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले जानकारी दिए । अधिकारीका योगदानलाई जीवन्त राख्नुपर्नेमा जोड दिए। पोखरालाई व्यवस्थित बनाउन चोकचोकमा रहेको शालिकलाई यही शहीद उद्यानमा ल्याइने योजना रहेको उनले जानकारी दिए।

रवीन्द्र सहित सहिद पार्कमा राष्ट्र एकिकरणका अभियन्ता पृथ्वीनारायण शाह र अन्य १८ सहिदका शालिक छन् । सहिद पार्कमा कफी सप र सेमिनार हल पनि थपेर पर्यटकीय गन्तव्य बनाउँन तर्फ महानगर लागि परेको मेयर जीसीले बताए ।

रवीन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम स्मृति दिवसमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्षसमेत रहेका केपी शर्मा ओली पनि पोखरामा आउँदै छन् । पोखरा सभा गृहमा उनले सम्बोधन गर्ने कार्यक्रम छ ।