६ बैशाख २०८१, बिहीबार

रवीन्द्र अधिकारीको पुण्यतिथिः ‘एउटा समयले जन्माएको ‘क्यारेक्टर’

Rabindra Adhikari

नेपाली राजनीतिमा लोकप्रिय युवा नेताको छवि बनाउन सफल तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अकल्पनीय निधन भएको फागुन १५ गते एक वर्ष पुरा भएको छ । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेका अधिकारी पोखरा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका थिए ।

उनी कास्कीको तत्कालीन भरतपोखरी गाविस जामुनाबोटमा २०२६ सालमा जन्मिएका हुन् । सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विभिन्न माध्यमबाट राजनीतिक जागरणमा आफ्नो भूमिकालाई सशक्त बनाउँदै आएका थिए ।

विसं २०४२ मा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गरेका अधिकारीले विभिन्न जिम्मेवारी बहन गर्दै २०४९ सालमा पिएन क्याम्पस र २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बन्न सफल भएका थिए । उनले २०४५ सालमा पार्टीको सङ्गठित सदस्यता प्राप्त गरेका थिए ।

विसं २०६४ र २०७० को संविधानसभा सदस्यमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित र २०७४ सालको प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नं २ बाट अधिकारी निर्वाचित भएका थिए । उनले २०७४ चैत २ गते नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको जिम्मेवारी सम्हाल्हेका थिए । उनको निधनपश्चात् २०७६ जेठ १८ गते उनका योगदानलाई चिरस्थायी बनाउन ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’को स्थापना गरिएको छ । जसको अध्यक्ष रवीन्द्र पत्नी विद्या भट्टराई हुन् ।

विविध व्यक्तित्वको नजरमा रवीन्द्र

Late Rabindra Adhikari

विम्ब कवि एवं कलाकार रमेश श्रेष्ठः

विसं २०४३ मा मेरो रवीन्द्रसँग पृथ्वीनारायण क्याम्पसमा भेट भएको हो । त्यही समयदेखिको आत्मीयता ऊ जिवित रहँदासम्म कायम रह्यो । मिलनसार, जुझारु, हँसिलो अनुहार र सबैसँग आत्मीय सम्बन्ध विस्तार गर्नसक्ने उसँग गजबको विशेषता थियो ।
फरक विचार र स्वभावका व्यक्तिलाई समेत आफ्नो प्रभावमा पार्नसक्ने क्षमता ऊसँग थियो । यही गुण र विशेषताले नै हुनुपर्छ उसलाई निरन्तर चुनावमा विजयी हासिल गराउँदै राजनीतिक सफलता मिल्दै गयो । रवीन्द्र अधिकारी एउटा समयले जन्माएको क्यारेक्टर हो । नयाँ पुस्ताले आर्दश मान्ने क्यारेक्टर उसमा थियो ।

पर्यटन व्यवसायी विप्लव पौडेलः

अधिकारीलाई म एक असल साथी र दूरदर्शी विकास प्रेमी नेताका रुपमा स्मरण गर्छु । नेपालको पर्यटनमा नयाँ आयाम र बृहत् योजनासहित अघि सारेका उहाँका रणनीतिक योजनाले नेपालको पर्यटनमा नयाँ आयामको शुरुआत गर्नमा हामी विश्वस्त थियौँ । तर, हामीले अकल्पनीयरुपमा उहाँलाई गुमायौँ ।

उहाँको निधनले नेपालको पर्यटन विकासमा नराम्ररी धक्का लागेको महसुस भएको छ । पोखराको सन्दर्भमा पनि विश्वकै उत्कृष्ट शहर बनाउने अभिष्ट उहाँमा थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, चक्रपथ, काठमाडौँ पोखरा लुम्बिनी फाष्ट ट्रयाक, काठमाडौँ पोखरा रेल्वे, मध्यपहाड़ी राजमार्गजस्ता पूर्वाधार निर्माणको दबाब सिर्जना गर्ने काममा उहाँको महत्वपूर्र्ण भूमिका छ ।

शिक्षाविद् जोर्जजोनः

म काजबाट २०४९ सालमा पृथ्वीनारायण क्याम्पस फर्कंदा रवीन्द्र अधिकारी स्ववियु सभापति हुनुहुन्थ्यो । निकै जाँगरिलो, कमाण्डिङ गर्न सक्ने टाठो युवा लाग्थ्यो । उहाँकै पहलमा पिएन गेटदेखि कार्यालयसम्मका बाटोलाई कङ्क्रिट बाटो बन्यो । बाटो निर्माण चन्दा उठाउन उहाँ निकै खटिनुभएको थियो ।

रवीन्द्रले विद्यार्थीकालदेखि नै विकासको एजेण्डालाई प्राथमिकता दिएको मैले पाएँ । कसैलाई नराम्रो नगर्ने, सम्मान गर्न जान्ने उहाँको विशेषता थियो । पोखरा विश्वविद्यालयको स्वरुप सम्बन्धीको एउटा कमिटीमा रवीन्द्र र म सँगै थियौँ । उहाँले धेरै सुझाव दिनुभएको थियो । म निकै राम्रो व्यक्तिका रुपमा रवीन्द्रलाई स्मरण गर्छु ।

रवीन्द्र स्मृति प्रतिष्ठानका कोषाध्यक्ष देवका पहारीः

रवीन्द्र अधिकारी मभन्दा एक व्याच सिनियर हुनुहुन्थ्यो । विद्यार्थी कालदेखि नै जुझारु र मिलनसार व्यवहार उहाँको थियो । राजनीतिक आन्दोलनमा निडर निर्भिक साथ प्रस्तुत हुने कुशल नेतृत्व क्षमता उहाँमा थियो । राजनीति र विकास एकअर्काका अन्तर सम्बन्धित ठान्ने अधिकारी नेपाली राजनीतिलाई उचाइमा पु¥याउने एक कुशल राजनीतिक पात्र हुनुहुन्छ । नेपाली राजनीतिको उदीयमान नक्षेत्रका रुपमा रहनुभएका अधिकारीले गर्र्नुभएका सकारात्मक र अविस्मरणीय कार्यलाई चिरस्थायी रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान गठन गरेर उहाँको योगदानलाई जीवन्त राख्ने प्रयासमा लागेका छौँ ।

रामकृष्ण ज्ञवाली,पत्रकार महासङ्घः

हामीले देश विकासका बारेमा भिजन भएको नेता गुमायौँ । बोल्नकै लागि बोल्ने धेरै नेता छन् । यसका विपरीत अध्ययन अनुसन्धान गरेर सम्भाव्यताका आधारमा विकासका दृष्टिकोण बनाउने नेता रवीन्द्र अधिकारी हुनुहुन्थ्यो ।

देश तथा विदेशका विकासका मोडलमा विशेष चासो राख्दै अध्ययन गर्न र देशकाल परिस्थितिलाई बुझ्न सक्ने लोकप्रिय नेताका रुपमा म रवीन्द्र अधिकारीलाई स्मरण गरिरहनेछु । आजको समकालीन नेतामा उहाँको जस्तो क्षमता र खुवी भएको नेता मैले देखेको छैन । अब छिट्टै जन्मेलान् वा अझै समय लाग्ला भन्न सकिन्न ।

गत वर्ष ताप्लेजुङमा भएको दुर्घटनामा अधिकारीसँगै यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुबदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्री अधिकारीका पिएसओ अर्जुनकुमार घिमिरेको निधन भएको थियो। – रासस