१८ श्रावण २०७८, सोमबार

जब आकाशमा कालो बादल मडारिन थाल्छ,हेलम्बु बसीको मन डर…

201324469 4597757153586298 5906479338501518378 n

हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ प¥यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ्न थाल्छ अनि ढुङ्गाको आवाज आउन थाल्छ । मडारिएर कालो बादल आउन थालेपछि उहाँको मन आत्तिन्छ फेरि पनि खोला कति ठूलो हुने हो र के के क्षति पु¥याउने भन्ने । “कालो मडारिएको बादल देखिएपछि डर लाग्न थाल्छ, फेरि पनि पानी पर्ने र खोला भरिने हो कि भनेर”, उहाँले भन्नुभयो, “तीन दिन भयो, फेरि पनि खोला बढेर बगाउँछ भनेर सुत्न पाएका छैनौँ ।”

यही असार २ गते मेलम्ची खोलामा बाढी आउँदा उहाँको घर र जग्गा सबै बाढीले बगाएको थियो । साँझ ७ः०० बजे खोलामा ठूलो आवाज आयो र घरबाहिर निस्केर हेर्दा ठूलो पानी आइरहेको उहाँले देख्नुभयो । त्यो खोला छिनभरिमा नै उर्लियो र राति १२ः०० बजे उहाँको घरजग्गा सबै बगायो । “त्यो दिन हामी घरबाट चाँडै निस्केरमात्र बाँच्न पायाैँ”, उहाँ भन्नुहुन्छ, “खोलामा ठूला आवाज र जमीन थरथर काम्न थालेपछि हामी बाहिर के भयो भनेर बाहिर निस्केका हौँ ।”

गत बुधबार आएको मेलम्ची नदीमा आएको पानीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका–१ को तिमु र चिउरी खर्क, वडा नं २ क्युल, वडा नं ६ चालिसेमा बढी क्षति पु¥याएको छ । पचपन्न वर्षीया ज्योति उक्त ठाउँमा बसेको धेरै भए पनि यसरी खोलामा ढुङ्गाको आवाज आउँदै बाढी आएको र जमीन थर्किएको कहिल्यै देख्नुभएको थिएन ।

यस्तै सोही ठाउँका मीनमार तामाङको पनि बगरमा रहेको घर बाढीले लग्यो । घरमा रहेको सबै बगाएपछि सपरिवार उहाँ डाँडामा त्रिपालमा बस्नुभएको छ । खोला एक्कासि बढेर आउँदा आफू र छोराछोरीलाई बचाउन लाग्दा घरको केही नै जोगाउन उहाँले पाउनुभएन । “हामी आफ्नो ज्यान बचाउनका लागि माथि डाँडातिर उक्ल्याैँ, अनि हेर्दाहेर्दै खोलाले घर बगायो”, उहाँ भन्नुहुन्छ, “आफूसँग लगाएको कपडाबाहेक घरबाट अरू केही ल्याउन पाएनौँ, घरमा रहेको सबै खोलाले बगायो ।”

यस्तै विष्णुप्रताप खड्काले पनि त्यो दिन दिउँसोदेखि नै खोलामा पानीको बहाव बढिरहेको बताउनुभयो । “बत्ती गयो, खोलो करायो, गाउँका छरछिमेकी जम्मा भयौँ, खोला हे¥याैँ मात्र केही गर्न सकेनौँ”, उहाँले स्मरण गर्दै भन्नुभयो, “भोलिपल्ट हेर्दा केही थिएन ।” त्यस दिन उहाँ भाउजूसँगै भाइको माछा फार्ममा जानुभएको थियो । पानी बढेपछि उहाँ माछा फार्मदेखि भाग्न सफल भए पनि भाउजू भने सक्नुभएन र खोलाले बगायो ।

उहाँसहित पाँच दाजुभाइको ५० रोपनी जग्गा बगर र भाइको माछा फार्म पनि खोलाले खायो । भुवन दङ्गालका अनुसार जेठ मसान्तको दिनदेखि खोलाको बहाव बढिरहेको र असार २ गते ठूलो बहाव आएको हो । “खोला बढेको दिन भूकम्पभन्दा बढी हल्लायो”, उहाँले भन्नुभयो, “अब त बाँचिन्न भनेको थियौँ, हामी त बाँच्यौँ, तर घर बगाएर लग्यो ।”

उहाँ घर बगाएपछि डाँडामा त्रिपालमा सुत्दै आउनुभएको छ । दिउँसो भने आफ्नो बगाएको घर कस्तो छ भनेर हेर्न आउने गर्नुहुन्छ । उहाँले भूकम्पले भन्दा बाढीले बढी क्षति पु¥याएको बताउनुभयो । “भूकम्पले बरु त्यति क्षति गरेन, घर भत्कको मान्छे मरेनन्, घर त पछि बनाइहाल्याँै”, उहाँले भन्नुभयो, “तर अहिले घरमात्र बगाएन, घर बनाउने ठाउँ नै बगर भयो, घर बनाउने ठाउँ नै छैन ।”

स्थानीयवासी धु्रवबहादुर श्रेष्ठले सामान्य खोलाभन्दा अहिले १० मिटर माथि बढेर आएको बताउनुभयो । उक्त दिन ७ः०० बजेदेखि पानीको सतह बढे पनि राति १२ः०० बजेदेखि भने लेदोसहितको बाढी आएको उहाँको भनाइ छ । “सामान्य खोलाभन्दा त्यस दिन एकै छिनमा १० मिटर माथि बढेर खोला आयो”, उहाँले भन्नुभयो, “रातीतिर त लेदोसहितको पानी आयो, त्यसपछि मेलम्चीका ड्यामका गिट्टीसहित पानी आयो ।” उहाँले खोला बहाव बढ्न साथ मानिस भागेकाले मानवीय क्षति हुन नपाएको बताउनुभयो ।

2021 06 16T083721Z 19783324 RC2I1O9ZEV42 RTRMADP 3 NEPAL BHUTAN FLOODS
A general view shows houses hit by flash floods along the bank of Melamchi River in Sindhupalchok, Nepal June 16, 2021. REUTERS/Navesh Chitrakar

चनौट बजार बगर

चनौट बजार जिल्लाको उत्तरतिरको किनमेल गर्ने बजार रहेको थियो । धेरै मानिसको किनमेल गर्न त्यहाँ आउने गर्दथे । गत बुधबार आएको मेलम्ची खोलामा आएको बाढीले बजार पूरै बगर भएको छ । बजारका अधिकांश पसल आधा डुबेका छन् भने व्यापारीले आफ्ना सामान सारेका छन् ।

स्थानीय हेलम्बु युवा समाजका सचिव रोशन दङ्गालले साँझतिर आएको बाढीमा कसैले पनि केही निकाल्न नपाएको बताउनुभयो । बजार क्षेत्रका सबै घर र पसलमा ताला लगाएर मानिसहरु डाँडामा बस्ने गरेका छन् । दिउँसो भने ती व्यापारी आफ्नो सामान पसलबाट झिकेर सुरक्षित ठाउँमा राख्ने गरेका छन् ।

उहाँले खोलाको बहाव बढिरहेकाले बजार अझै पनि असुरक्षित रहेको बताउनुभयो । “पानी परिरहेको छ, कतिबेला बजारतिर खोला पस्छ भन्ने चिन्ता सवैलाई छ”, उहाँले भन्नुभयो, “साँझतिर पानी पर्न थालेपछि यहाँका व्यापारीहरु त्रासमा हुन्छन् ।” उहाँले जिल्लाकै तेस्रो ठूलो बजार क्षेत्रका रुपमा रहेका यस बजारमा यसअघि हजारौँ मानिस किनमेल गर्न आउने गरेका बताउनुभयो । उहाँका अनुसार बाढीले बजार क्षेत्रका ५० घरमध्ये २० बगाएको र करीब रु सात अर्ब बराबरको क्षति भएको छ ।