६ बैशाख २०८१, बिहीबार

सुकुटे क्षेत्रलाई पर्यटकीय ‘हव’ बनाउन नगरपालिकाको पहल

chautara sagachokgadi nagarpalika

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो समय लोकप्रिय सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले पहल थालेको छ ।

सुकुटे क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले शुक्रबार सुकुटेमा सरोकारवाला निकायसँग अन्तक्र्रिया गरेको छ । राजधानीबाट नजिकको दूरीमा रहेको सुकुटेलाई व्यवस्थित बनाउँदै अझै पर्यटकको आकर्षण बढाउने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिकाले चासो दिएको हो ।

कार्यक्रममा नवनिर्वाचित सांसद माधव सापकोटाले सुकुटे क्षेत्रलाई व्यवस्थितसँगै पर्यटकको चाहनाअनुसार सुविधासहितको पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिनुभयो । बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले सुकुटे बजारले पर्यटकीय र धार्मिक महत्व बोकेको उल्लेख गर्नुभयो । अरनिको र भृकुटीको प्रतिमासहितको पार्क निर्माण गर्नसके त्यसले ऐतिहासिक महत्वलाई समेत जिवित राख्न मद्दत पुग्ने उहाँको भनाइ थियो ।

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरभित्रको समग्र क्षेत्रको विकासमा आफ्नो ध्यान गएको बताउँनुभयो । सुकुटे बजारलाई अझै व्यवस्थित गर्दै पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने नगरपालिकाले विशेष योजना ल्याउने उँहाले बताउनुभयो ।

बलेफी गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङले लगानी र सुरक्षाको वातावरण स्थानीय सरकाले बनाउने हुँदा व्यवसायीले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनुभयो । पर्यटन एवं होटल व्यवसायी नारायण श्रेष्ठले सो क्षेत्रका पर्यटन प्रवद्र्धनको चुनौती र सम्भावनाबारे धारणा राख्नुभयो । सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले तीन वर्ष अगाडि आयोजना गरिएको सुकुटे महोत्सवबाट पारित १० बुँदे घोषणा कोरोना भाइरसका कारण कार्यान्वयनमा समस्या परेकाले आवश्यकताअनुसार ती घोषणालाई कार्यान्वयनमा लानुपर्ने छलफलको निष्कर्ष छ ।