११ आश्विन २०७८, सोमबार

यार्सा टिप्न काेराेनाले राेक्याे, छाक टार्ने अन्न छैन

Yarsha Collecting

चिसो मौसम सकिएपछि अहिले उपल्लो डोल्पाका सबै गाउँका स्थानीयवासीको आफ्नै थातथलोमा जमघट छ । यो याम मूल्यवान् जडीबुटीका रुपमा रहेको यार्सागुम्वा सङ्कलन गरेर वर्षभरि खाने र सबै खालका समस्या टार्ने रकम जम्मा गर्ने हो । तर विडम्वना के छ भने डोल्पालीले दुई वर्षदेखि यार्सागुम्वा सङ्कलन गर्न पाएका छैनन् । जीवन जिउने मुख्य आधार यसैलाई मान्ने गरेका डोल्पाली यसबाट पीडित भएको बताउदै आएका छन् ।

कोरोना भाइरसको महामारीका कारण जङ्गलमा पाइने यार्सागुम्वा टिपेर व्यापार गर्न नपाउदा मुख्य कमाइ गर्ने आधार नै सकिएको डोल्पोवुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो ,“गाउँमा विकास निर्माणका कामत शुरु भएका छन् तर यो पैसाले गाउँलेहरुको जीवन निर्वाह गर्न मुस्किल छ । खाद्यान्न खरिद गर्न समेत धौ धौ पर्ने अवस्था आइसकेको छ । गाउँपालिकाले यति धेरै परिवारलाइ कसरी खाद्यान्न दिने ?”

गाउँमा विरामी हुँदा औषधि खरिद गर्ने पैसा पनि नभएको उहाँले जानकारी दिनुुभयो । “औषधि ढुवानी गर्न औषधिको मूल्यभन्दा बढी बजेट चाहिन्छ” अध्यक्ष गुरुङले थप्नुभयो “स्थानीय आम्ची, लामाको भरमा उपचार गर्नुपरेको छ, यहाँको पीडा कसले सुन्ने ?” वर्षमा मुस्किलले एक बालीमात्र उत्पादन हुने उपल्लो डोल्पामा अधिकांश समय बाहिरको खाद्यान्न ल्याएर जीवन चलाउनु परेको स्थानीय डोल्पोवुद्ध– ४ का अध्यक्ष पारतेन लामाले भन्नुभयो ।

अहिले जौ, उवा, गहुँ र फापर लगाउने समय आएको उहाँले बताउनुभयो । आकाशे पानीको भरमा लगाएको बाली कात्तिकमा मात्र पाक्ने गर्दछ । चिसो मौसम भएका कारण बाली पाक्न कम्तीमा पनि छ महिना कुर्नुपर्छ । दुइ वर्षदेखि खाद्यान्नलगायतका अन्य समस्याहरु टार्नका लागि ऋण लिएको पैसा तिर्न नसक्दा साहुले दबाब दिएको स्थानीयले बताउदा आफूले केही गर्नसक्ने अवस्था नरहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रदेश, सङ्घीय सरकारले उपल्लो डोल्पाका नागरिक बचाउनका लागि विशेष अनुदानको व्यवस्था गर्नुपर्ने यहाँको माग छ । सदरमुकाम दुनैबाट घोडा, चौरीमा हप्ता दिनभन्दा बढी समय लगाएर ल्याइएको सामानले आफूहरु टाट पल्टिएको उपल्लो डोल्पाका सर्वसाधारणहरु बताउँछन् । अहिले पशुपालनलाई ध्यानमा राखी बजेट आएको रहेछ, अलिअलि खुशी पलाएको छ तर हाम्रो ठाउँमा सडक नपुगुञ्जेलसम्म केही हुने वाला छैन सिमेनका धावा गुरुङले बताउनुभयो ।

जाजरकोट–डोल्पा हुँदै उपल्लो डोल्पा जोड्ने सडकमा बजेट पर्याप्त विनियोजन नगरेको उहाँको भनाई छ । अहिले छुट्याएको बजेटबाट जाजरकोट खण्डमा पिचका लागि मात्र खर्च हुने उहाँले बताउनुभयो । जनता जोगाउने भए यार्सागुम्वा सङ्कलन गर्न दिनुपर्ने उपल्लो डोल्पाका स्थानीयबासीको माग छ । त्यस्तै सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् पशुपालन व्यवसायलाई सहयोग गर्ने जानकारी पाएपछि आफूहरु खुशी भएको उपल्लो डोल्पाका सर्वसाधारणहरु बताउँछन् । निकुञ्जभित्र रहेका अधिकांश गाउँहरुमा पशुपालन व्यवसाय सञ्चालन गर्न समेत मुस्किल हुँदै आएको छ । हिउँ चितुवालगायतका अन्य जंगली जनावारले घरपालुवा जनावारको शिकार गर्दा ठूलो क्षति हुँदै आएको पनि उनीहरुको गुनासो छ ।

तिन्जेको मैदानमा विमानस्थल सञ्चालन गर्नुपर्ने

उपल्लो डोल्पाको महत्वपूर्ण भू–भागको रुपमा रहेको तिन्जेको मैदानमा विमानस्थल सञ्चालनमा ल्याउन ल्याउन उपल्लो डोल्पालीको माग रहेको छ । यो सञ्चालनमा आएमा उपल्लो डोल्पाका तीन स्थानीय तह मात्र होइन, चीनलाई समेत यातायातका लागि सहयोग पुग्ने स्थानीयवासीको बुझाई छ ।
विसं २०३२ मा साटा स्वीस मिसन (तिब्बती शरणार्थीलाई सहयोग गर्ने संस्था)का इन्जिनियर उइडर पिटरले तिन्जेको मैदानमा पिल्लाटस पोटर (सानो जहाज) बस्ने हवाई मैदान बनाउन लागत अनुमान तयार गरी गृह पञ्चायत मन्त्रालयमा पेश गर्नुभएको डोल्पोवुद्ध गाउँपालिकाले जनाएको छ । सोही लागत अनुमानअनुसार हवाई मैदान बनाउनको लागि तत्काल रु २५ हजार निकासा दिन पञ्चायत विकास विभागको आदेश समेत भई निकासा भएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय जनताले एक दिन बराबर श्रमदान गरेर उक्त मैदानमा करिब दुई हजार फिटसम्म हवाई निर्माण गरेका थिए । सामान्यतया पिलाटस पोटरको लागि एक हजार फिट लामो हवाई मार्ग पर्याप्त मानिए पनि सो क्षेत्र उच्च पहाडी क्षेत्र भएकाले अक्सिजनको कमीका कारण जहाज रोक्न समस्या पर्न सक्ने अनुमान गरी दुई हजार फिट लामो बनाइएको थियो ।

यो हवाई मैदान तयार भैसकेपछि तत्कालीन सरकारले सम्भावित तिब्बती शरणार्थीबाट हुनसक्ने खतरालाई मध्यनजर गरी प्रतिबन्ध लगाइएकोले हवाई यातायात सञ्चालन हुन नपाएको बताइन्छ । नेपालमा रहेका तिब्बती शरणार्थीहरुको क्याम्प बाग्लुङको ढोरपाटनबाट ६÷७ दिनको पैदल यात्रामा सो विमानस्थलमा पुग्न सकिन्छ ।

अहिले यो उक्त मैदानलाई विमानस्थलका रुपमा प्रयोगमा ल्याउन सके उपल्लो डोल्पाका लागि सबै खालको सहयोग मात्र नभएर जीवनस्तरमा समेत परिवर्तन ल्यान सकिने प्रदेशसभा सदस्या बीरबहादुर शाहीले जानकारी दिनुभयो । पर्यटक, कर्मचारी तथा स्थानीयबासीहरु विरामी हुँदा उपचार गर्न समेत सहजता आउने उहाँले बताउनुभयो ।

विमानस्थल सञ्चालनमा आएमा पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने यहाँका नागरिकको विश्वास रही आएको छ । दुनैबाट तेन्जेसम्म सडकको लम्वाइ १२० किमि रहेको र आफूहरुको ध्यान सडक सञ्जालसँग बढी केन्द्रीत भएको समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताउनुभयो । अहिलेको बजेटले आफूहरु खुशी भएको पनि उहाँले बताउनुभयो ।

डोल्पोवुद्ध बाहेकमा एउटै समस्या

उपल्लो डोल्पाको तीन स्थानीय तहमध्ये डोल्पोवुद्ध गाउँपालिका दलित समुदाय नै नभएको स्थानीय तहमा पर्दछ । अन्य भोटे, गुरुङ, लामा, जातिका मानिसहरु मात्र बसोवास गरिरहेका छन् । आजको विश्वव्यापीकरणको युगमा जीवनका हरेक पक्षमा आधुनिकीकरणको प्रभाव पर्दै गएको देखिए पनि डोल्पोवुद्धलगायत उपल्लो डोल्पामा त्यसको प्रभाव देखिँदैन ।

खाम (भोटे) मातृभाषा बोल्ने मानिसहरु यहाँ रहेका छन् । यहाँ प्रायः सबै बौद्धमार्गी छन् । यहाँका मासिनसहरु विरामी हुँदा गुम्वामा रहेका लामाहरु सर्वप्रथम कहाँ उपचारका लागि जाने भन्ने प्रचलन कायमै रहेको छ । डोल्पोवुद्धमा मात्र पाँचवटा बस्ती रहेको छन् । जसमा धो, कलाङ्ग, ताक्सि, पोल्दे तिन्जे र सिमेन रहेका छन् ।

डोल्पोबुद्धको उचाइ समुद्री सतहबाट ३ हजार ८७० मिटर देखि ४ हजार १५० मिटरसम्म रहेकोले र यहाँको हावापानी पनि चिसो भएकोले वर्षेनी एक पटकमात्र बाली रोप्ने र थन्क्याउने कार्य गरेको पाइन्छ । तरकारी बालीमा आलु, अन्नबालीहरुमा जौँ, उवा, गहुँ र फापर मात्र उत्पादन हुन्छ । सिँचाइको अभाव, उन्नत बीउ बिजन पु-याउन कठिन, मल बीउको अभाव, प्राकृतिक प्रकोप, बाढी, असिना, हिमपातले गर्दा खेती प्रणालीमा समस्या सिर्जना गरेको पाइन्छ ।

गाउँपालिकामा रहेका मुख्य गुम्बा, तीर्थस्थल तथा मन्दिरहरु नौवटा रहेका छन् । जाम्पा गुम्बा, रि बुम्पा गुम्बा, सिपाचोक गुम्बा, थकार गुम्बा, डालुङ्ग गुम्बा, बालुङ्ग गुम्बा, पु गुम्बा, समेन गुम्बा र मेयपिम गुम्बा पर्यटकीय आकर्षणका रुपमा रहेका छन् । सहज रुपमा जाने बाटो तथा अन्य माध्यम नहुँदा यो सबैको अपरिचित हुँदै आएको छ । यहाँ पाँच हजारभन्दा माथिका भञ्ज्याङहरु १३ वटा रहेका छन् । ती भञ्ज्याङहरु सेलामुच्चुङ, ज्योन्टा भञ्ज्याङ्ग, नमला, बगला, छोईला, चाल्ना, महोला, चाला, यानाङ, मरिम, पिण्ड, काङकुङ र सेलामुच्चुङ भञ्ज्याङ हुन् ।

त्यस्तै छार्का ताङसोङ गाउँपालिकामा शेर्पा, डोल्पाली, गुरुङ, मगर बसोबास गर्दछन् । यहाँ धेरैजसो बौद्धमार्गी र अन्यमा हिन्दु, क्रिश्चियन, किराँती धर्म मान्ने केही सङ्ख्या समेतको मिश्रित बस्ती छ । विश्वको अग्लो स्थानमा रहेको मानव बस्ती छार्का समेत यहीँ रहेको छ । यहाँ दश वटा पर्यटकीयस्थल रहेका छन् । चार गुम्वा र दुइ हिमाल, तीन ताल यहाँ छन् । यसको प्रचारप्रसार गरी पर्यटन भित्र्याउन समेत सडक सञ्जाल निर्माण हुनुपर्ने यहाँका स्थानीयबासीहरु बताउँछन् । “सडक पनि नपुग्ने, स्थानीय जडीवुटी पनि सङ्कलन गर्न नदिने हो भने हामी कसरी बाँच्ने हो ?” स्थानीय धावा डोल्पालीले बताउनुभयो ।

खानेपानी, खाद्यान्न र सिँचाइ सुविधा नहुँदा यो गाउँपालिकालाई समस्य हुँदै आएको छ । जसका कारण खाद्यान्न उत्पादन गर्न मुस्किल हुँदै आएको छ । साविकको छार्का र मुकोट गाउँ विकास समितिलाई समायोजन गरी छार्का ताङसोङ गाउँपालिका बनाइएको थियो । हिमाली हावापानी तथा प्राकृतिक रुपमा विविधता पूर्ण रहेको यो गाउँपालिका ठण्डा जलवायु हुने र जडीबुटी तथा बनपैदावारहरुमा पनि त्यत्तिकै विविधता पाइन्छ ।

मुख्य रुपमा पशुपालन तथा कृषि यहाँका स्थानीयको मुख्य पेशा हो । मुख्य आम्दानीको श्रोत पनि व्यावसायिक पशुपालन र जडिबुटीको व्यापार रहेको छ । भौगोलिक हिसावले निकै विकट रहेको यस गाउँपालिकामा सडक यातायातको अभावले गाउँबासीले निकै दुःख र कष्ट भोग्नु परेको छ । साथै गाउँपालिकाभित्र हुने विभिन्न सामाजिक एवं आर्थिक क्रियाकलापहरु पनि यातायातको अभावका कारण हुन नसकेको बताइएको छ । त्यसैगरी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, विद्युत जस्ता आधारभूत विषयहरुको पनि अभाव रहेको छ ।

शे फोक्सुण्डो गाउँपालिकाभित्र शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको अधिकांश भाग पर्दछ । यो गाउँपालिका हिउँ चितुवालगायतका वन्यजन्तुका लागि महत्वपूर्ण मानिन्छ । धार्मिक हिसावले यो गाउँपालिकामा व्यापक मात्रामा गुम्वा रहेका छन् ।

यहाँका सर्वसाधारणहरुको पनि मुख्य आयआर्जनको माध्यम यार्सागुम्वालगायका जडीवुटी नै हुन् । दुइ वर्ष यस गाउँपालिकाका सर्वसाधारणले यार्सागुम्वा सङ्कलन गर्न नपाउँदा समस्यामा परेको बताउदै आएका छन् । आर्थिक अभाव हुँदा दैनिक खर्च धान्न समेत निकै समस्या भएको उनीहरुले बताएका छन् । सदरमुकाम दुनैबाट लगिएको खाद्यान्नबाट नै यहाँका सर्वसाधारणहरु जिवीका चलाउँदै आएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री केन्द्र मात्र

उपल्लो डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री केन्द्र मात्र रहेको छ । तल्लो डोल्पामा डिपो नै भएपनि उपल्लो डोल्पाका लागि भने बिक्री केन्द्र मात्र स्थापना भएको हो । खाद्यान्न एकै पटक ठेकेदारले लिएर बिक्री वितरण गरेर सदरमुकाम दुनै फर्कने गरेका छन् । बाँकी समय सो बिक्री केन्द्र रित्तो हुने गरेको छ । चामलको मूल्यभन्दा ढुवानीको मूल्य बढी हुने भएपछि यहाँका स्थानीयबासीलाई समस्या हुँदै आएको छ ।