१६ बैशाख २०८१, आईतवार

डोल्पामा छब्बीस दिनदेखि अवरुद्ध हवाईसेवा सुचारु

flight dolpa e1692250705944

खराब मौसम र लगातार झरीका कारण डोल्पालगायत दुर्गम हिमाली जिल्लामा नियमित उडान हुन सकेको छैन।

नियमित उडान हुन नसकेको हिमाली जिल्ला डोल्पामा भने करिब महिना दिनपछि बुधबार हवाई जहाज अवतरण गरेको छ । मौसममा सुधार आएसँगै बुधबार नेपालगन्जबाट डोल्पाको लागि तारा एयरलाइन्सको जहाजले एउटा उडान भरेको हो । लगातारको वर्षाका कारण नेपालगन्ज-डोल्पा हवाई सेवा २६ दिनसम्म बन्द भएको थियो ।

झन्डै महिना दिनपछि हवाई उडान हुँदा डोल्पाबासी हर्षित भएका छन् । लामो समयदेखि विभिन्न कामका लागि जिल्ला बाहिर जान जहाज पर्खिएर बसेका यात्रुहरुले राहत महसुस गरे । २६ दिनपछि हवाई सेवा खुल्दा नेपालगन्जबाट सिमकोट विमानस्थलमा अवतरण गरेका यात्रुले डोल्पा आउन पाएको खुशी व्यक्त गरे ।

जहाज आएपछि नेपालगन्ज हुँदै काठमाडौं पुगेका सञ्चारकर्मी लेख बुढाले लामो समयदेखिको कामका लागि महिना दिन जहाज कुर्नु परेको जनाए।

दुर्गममा बस्नुको पीडा सुनाउँदै उनले भने, ‘राजधानीको काम गर्न करिब महिना दिन जहाज कुर्नु पर्‍यो । खराब मौसम र नियमित उडान नहुँदा धेरैले महत्त्वपूर्ण काम समयमै गर्न पाएका छैनन् । जटिल अवस्थाका बिरामीले अकालमै ज्यान गुमाउनु परिरहेको छ ।’

डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुरा कोटकी देवकी उपाध्यायले बल्लबल्ल आकाश खुलेसँगै २६ दिनपछि डोल्पामा आउन पाएको जनाइन् । नेपाल नागरिक उड्डयन प्राधिकरण जुफाल डोल्पाका प्रमुख अमित कुमार चौरसियाले मौसममा सुधार आएपछि उडान भएको तर प्राधिकरणले बिहान ६ बजेपछि दिउँसो १२ बजेसम्म मात्र उडान गर्ने गरी बनाएको मापदण्डमा फेरबदल नभएको जानकारी दिए ।

झन्डै एक महिनासम्म हवाई उडान नहुँदा बिरामी, अशक्त तथा अत्यावश्यक कामका लागि नेपालगन्ज झर्नु पर्नेहरुले सास्ती व्यहोर्नु परेको छ ।

मनसुन सुरु भएसँगै देशभरका २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि उडानमा रोक लगाउँदै प्राधिकरणले हवाई उडानमा कडाइ गरेको छ ।