१३ बैशाख २०८१, बिहीबार

जसपा यादव पक्ष आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाँदै

Upendra Baburam
फाइल फोटो

पार्टीको आधिकारिकताको दाबी गर्दै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्ष आज (शुक्रबार) निर्वाचन आयोग जाँदैछ ।

कार्यकारिणी सदस्य रामसहाय यादवका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाअनुसार आधिकारिकता दाबी गर्न आज दिउँसो आयोग जान लागेको हो ।

‘अहिले यसका लागि तयारी हुँदैछ । कति बजे जाने तय गरिएको छैन । तर, आज दिउँसोसम्म हामी आधिकारिकताका लागि निर्वाचन आयोग जान्छौं,’ कार्यकारिणी सदस्य रामसहाय यादवले भन्नुभयो, ‘५१ जना कार्यकारिणी सदस्यमा ३० जना हाम्रो पक्षमा हुनुहुन्छ । त्यस्तैले बहुमतको निर्णयलाई आयोगले यो पटक स्वीकार गर्नुपर्छ ।’

यसअघि ठाकुर पक्ष र यादव पक्षले एक अर्कालाई कारबाही गरेको जानकारी निर्वाचन आयोगमा बुझाएको थियो । यादवले बहुमत कार्यकारिणीको हस्ताक्षरसहित कारबाहीको पत्र बुझाएका थिए भने ठाकुर पक्षले यादवलाई कारबाहरीको पत्र मात्रै आयोगमा बुझाएको थियो ।
तर, आयोगले दुवै पक्षको मागलाई अस्वीकार गरेको थियो । यद्यपी आज पुनः राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार वैधानिकता दाबी गर्दै आयोगमा निवेदन दिने लागेको सदस्य यादवले बताउनुभयो ।

त्यस्तै बिहीबार पार्टी कार्यलय बालकुमारीमा बसेको अध्यक्ष यादव पाक्षको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
यसअघि अध्यक्ष यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । यसबारे सरकारमा सहभागी भएका बाँकी नेतालाई पनि निष्कासन गर्ने निर्णय बैठकले गरेको सदस्य यादवले जानकारी दिनुभयो ।

त्यस्तै लुम्बिनी प्रदेशका चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ । साथै बाढी पहिरोमा परेकाहरुको उद्धारमा खटिन कार्यकर्तालाई बैठकले निर्देशन दिएको छ भने बाढी पीडितका लागि राहत प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ ।