
बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्रीकाे टाेली लिएर मनाङ पुगेकाे सेनाकाे हेलिकोप्टर थन्क्याएर राखिएकाे भन्दै मन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले आपत्ति जनाउनुभएकाे छ ।
आज पाेखराबाट मुख्यमन्त्रीकाे टाेलीलाई लिएर गएकाे साे हेलिकप्टर सर्वसाधरणकाे उद्दारमा लगाइएकाे थियाे ।
गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलसहितकाे टाेली आज मनाङ गएकाे हाे ।

टाेलीमा मन्त्री मनाङे पनि सामेल हुनुहुन्छ । उहाँ हिमाल पारीको जिल्ला मनाङबाट गत निर्वाचनमा स्वतन्त्र प्रदेश सभा सदस्यका रुपमा निर्वाचित हुनुभएकाे हाे ।
जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोले क्षति गरेपछि अवलोकनका लागि प्रदेशका मुख्यमन्त्री पाेखरेलसहित मनाङ गएको टाेली अहिले चामेमा रहेकाे छ ।
बाढी पहिराेमा परेका सर्वसाधरणकाे लागि उद्दार गरिनु पर्ने हेलिकप्टर निरिक्षणका लागि प्रयाेग गरिएकाे भन्दै सामाजिक संजालहरुमा आलाेचना समेत भएकाे छ ।
मुख्यमन्त्रीकाे टाेलीलाई अर्काे हेलिकप्टर मार्फत पाेखरा ल्याइने बताइएकाे छ । सामाजिक संजालमा हेलिकप्टर तस्वीर सार्वजनिक गर्दै मन्त्री मनाङेले यस्ताे लेख्नुभएकाे छः
“ग्रिह मन्त्रालयबाट उद्दारको लागि पाठाईएको सेनाको हेलि थन्क्याएर राखिदै ।मनाङ्ग चामे।यसमा घोर आपत्ति॥”
