१६ चैत्र २०८०, शुक्रबार

रोष्ट्रममा मन्त्री मनाङे पहिलोपटक: भन्छन्- ट्वाइलेट जाँदा पनि ग्राउण्ड मागेर इरिटेड बनाए

dipak manange

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे पहिलोपटक प्रदेशसभाकाे राेष्ट्रममा उभिएर जवाफ दिएका छन् ।

मन्त्री र सरकारलाई गाली गरेर सधैँ चर्चामा आइरहने मनाङे पहिलो पटक आफ्नो मन्त्रालयलाई उठेको प्रश्नमाथि जवाफ दिन रोष्ट्रम पुगेका हुन् । तर, उनले रोष्ट्रममा पुगेर पनि सांसदहरूले उठाएको प्रश्न बाहिर सोध्न भनेका छन् ।

‘प्रश्नहरू सजिलो छ, तर मलाई प्रश्न गर्नेभन्दा अर्थमन्त्री र मुख्यमन्त्रीलाई सोध्नुपर्ने हो,’ आफ्नो जिल्लामा खेलकुदको बजेट नपरेको गुनासो सांसदहरूले राखेपछि जवाफ दिँदै उनले भने, ‘मैले पनि शिक्षा मन्त्रालयबाट २ शीर्षकमा २५ लाख पाएको छु ।

वन, कृषि मन्त्रालयबाट एक रुपैयाँ पनि पाएको छैन । उनीहरूसँग रिसाएर हुन्छ ? त्यही भएर मलाई यहाँ आउन पनि मन लाग्दैन । आयो कि ग्राउण्ड कि ग्राउण्ड भन्छ । मत माननीयहरूको नाम पनि बिर्सिन्छु । कसले प्रश्न गर्नुभएको थियो, बाहिर भनेको भए रिस उठ्ने कुरा हो ।’

उनले रातो किताब सबै सांसद्ले पाएको भन्दै आफ्नो जिल्लाको कार्यक्रम हेर्न सुझाए । ‘रातो किताब पाउनुभएको छ । त्यहाँ हेर्नुस् न ।

सबैमा बजेट परेको छ,’ उनी भन्छन्, ‘दुई सय पाँचवटा ग्राउण्ड मैले गत वर्ष बनाएको छु । त्यो हेर्न सक्नुहुन्छ । कसैले पैसा लगेर बनाएको छैन भने, तपाईंहरू सांसद हो, समात्नुस् ।’

उनले आफ्नो मन्त्रालयमा अत्यधिक सचिव सरुवा हुने कारणले काम गर्न नसकेको गुनासो गरे । उनले जसले पनि खेल मैदान मागेर आफूलाई हैरान बनाएको बताए ।

‘अघि म ट्वाइलेट गएको त्यहाँ पनि चारजना आएर खेल मैदान हाल्देउ भन्छ । मैले खनेर बनाउने हो र ? मलाई त इरिटेड बनाए, पद नै दिउँ जस्तो लागिसक्यो,’ उनले भने, ‘सर्वसाधारणको पनि आवाज आएको छ ।

हामीले चाहेर पनि धेरै गर्न सक्दैनौं । कि ५७ करोड दिनुपर्छ, नत्र मन्त्रालय नराखे हुन्छ । यसको काम पनि छैन । जुन मन्त्रीले केही गर्न सक्दैन, मन्त्रीको बेइज्जत हुन्छ ।’

मनाङेले आफू भाषण गर्ने मान्छे नभएकोले भाडामा पाए भाषण गर्ने मान्छे राख्ने बताए । ‘तपाईंहरु जस्तो किन्तु परन्तु भनिनँ । म भाषण दिएर हिँड्ने मान्छे हैन, मेरो सट्टामा भाडामा कसैले भाषण गरिदिए, त्यसैलाई ल्याउथें । त्यसलाई १०–२० हजार दिन्थें,’ यसअघि कहिल्यै रोष्ट्रम नपुगेका उनले भने, ‘म जबरजस्ती आएर बोलिरहेको छु ।

ब्राजिलमा पनि यति धेरै ग्राउण्ड छैन होला । तै पनि पुगेन भन्छ । तर, पनि मैले कोशिस गरेको छु । तपाईंहरुले धेरै इरिटेड गरिरहनुभएको छ । कि पद पनि लानुस् । कोही छ भने आउनुस, लिएर जानुस् । अत्ति इरिटेड भइसकेँ ।’