८ बैशाख २०८१, शनिबार

विभाजनको डिलमा पुगेको जसपा: संकटमा बाबुराम भट्टराई

baburam bhattarai and upendra yadav
फाइल फोटो

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई संकटमा पर्नु भएको छ । विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टी नेपालमा आफ्ना पक्षका नेताहरुसमेत कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवतर्फ लागेपछि भट्टराई थप अप्ठ्यारोमा पर्नु भएको हो ।

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईबीचको मतभेदका कारण अहिले दुवै पक्ष छुट्टाछुट्टै भेला गरिरहेका छन् । यादवले वीरगञ्जमा पार्टीको विस्तारित बैठक गर्दा भट्टराई पक्षधरले काठमाडौंमा सम्पन्न बैठक गर्‍यो ।

एकै समयमा दुई पक्षको बैठक चलिरहँदा दुबै पक्षले एकअर्कालाई आरोप प्रत्यारोप लगाइरहेका छन् । पार्टी विभाजन नजिक पुग्दा भट्टराईलाई बढी नोक्सान पुगेको छ । झण्डै पाँच सय केन्द्रीय सदस्य रहेकोमा भट्टराईको पक्षमा ४० प्रतिशतभन्दा कम सदस्य मात्रै छन् ।

त्यस्तै जसपाबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदमा भट्टराईसँग पूर्वमन्त्री महिन्द्रराय यादवभन्दा अरु कोही छैन । लामो समयदेखि साथ दिँदै आएका पार्टीका नेता अशोक राईले साथ छाडेपछि भट्टराईलाई ठूलो झड्का लागेको विश्लेषण भइरहेको छ । तर भट्टराई पक्षका नेताहरुले भने केन्द्रीय सदस्य र सांसद संख्याले खासै अर्थ नराख्ने दाबी गर्छन् ।

कतिपय नेताहरुले भने अझै पनि आफूहरुको पक्षमा २ सय ५० को हाराहारीमा केन्द्रीय सदस्य रहेको दाबी गर्छन् । पार्टी विभाजनका लागि आवश्यक ४० प्रतिशत केन्द्रीय सदस्य संख्या आफूहरुसँग रहेको भट्टराई पक्षधर नेताहरुको दाबी छ ।

उता यादव पक्षधर नेताहरुले पनि आफूहरुको पक्षमा बहुमत संख्यामा केन्द्रीय सदस्य र सांसद रहेको दाबी गरेका छन् । काठमाडौंमा भट्टराई पक्षले गरेको भेलालाई यादव पक्षले अवैध भनेको छ ।

माओवादी केन्द्रबाट अगल भएपछि भट्टराईले वैकल्पिक शक्ति बनाउने भन्दै नयाँ शक्ति नेपाल नामक पार्टी गठन गर्नु भएको थियो । त्यसको केही समयपछि नै संघीय समाजवादी फोरमसँग एकता गरेपछि समाजवादी पार्टीको पुनर्निर्माण भयो ।

पछि राष्ट्रिय जनता पार्टीसँग पनि एकता गरेपछि जनता समाजवादी पार्टी बन्यो र महन्थ ठाकुर, राजेन्द्र महतोहरुले आवश्यक संख्या पुराउन नसकेपछि जसपाको आधिकारिकता भट्टराई र यादव पक्षले पायो । पार्टी विभाजन भएको छोटो समयमा नै भट्टराई र यादवबीच मतभेद देखिएपछि पार्टी फेरि फुट नजिक पुगेको छ ।