१५ चैत्र २०८०, बिहीबार

पूर्वडीआईजी रमेश खरेलको नयाँ पार्टी, ‘हाम्रो नेपाल, हामी नेपाली’

Ramesh Kharel

नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने उद्देश्यले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको नेतृत्व गर्ने भएका छन् ।

भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर सक्रिय बनाइने अभियानको औपचारिक घोषणा भने बिहीबार एक कार्यक्रमबीच गरिने खरेलले जानकारी दिए ।

अभियानमा सामाजिक व्यक्तित्वहरुका साथै केही पूर्वप्रशासक समेत सामेल छन् । अभियानले प्रारम्भिक ६ महिनासम्मको गतिविधिलाई मूल्यांकन गरेर थप योजना तथा कार्यक्रम अघि सार्ने जनाइएको छ ।

२०७४ माघ २८ गते सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै खरेलले डिआइजी पदबाट राजीनामा दिएका थिए । प्रहरी संगठनमा खरेलले लोकप्रिय छवि बनाएका थिए ।

खरेल संयोजक रहेको अभियानमा रक्षा मन्त्रालयका पूर्वकायममुकायम सचिव देवेन्द्र सिटौला, आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाही लगायत आबद्ध छन् ।

शाही आफूलाई भ्रष्टाचार विरोधी अभियान्ता भनेर चर्चामा आएका छन् । उनी विवादास्पद व्यक्ति पनि हुन् ।

खरेलको पार्टीमा पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई पनि समेटिने बताइएको छ ।