१३ बैशाख २०८१, बिहीबार

दिल्लीमा हिन्दु र मुस्लिमबीच दंगा भडकिदै

New Delhi unrest

दिल्लीका मुख्यमन्त्री केजरीवाल भन्छन्- सेना परिचालन गरौं

भारतको राजधानी नयाँ दिल्लीमा धार्मिक दंगा भएको छ ।

नागरिकता कानुनको विषयमा जारी दुई पक्षीय झडपमा मृत्यु हुनेको संख्या २० पुगेको छ। बुधबार बिहानसम्म उत्तरपूर्वी दिल्लीमा मृतकको संख्या बढेर २० पुगेको हो भने २ सय ५० भन्दा बढी घाइते भएका एएनआइले जनाएको छ।

आइतबार साँझबाट शुरु भएको दंगा मंगलबार साँझ पनि भएको छ । एउटा समूहले मुसलमान समुदायका घर र पसल आगो लगाइदिएका छन् । उत्तरपूर्वी दिल्लीमा रड र लाठीसहित सक्रिय भएका समूहले दंगा मच्चाएका हुन् । दुई समूहबीचको भिडन्तमा २० जना मारिएका हुन् । घटनामा २५० घाइते भएका छन् ।

delhi unrest 2

भारतमा नागरिकतासम्बन्धि विधयेक संसदबाट पारित भएपछि यसको विरोधमा प्रदर्शन भइरहेको छ । समर्थनमा पनि मानिसहरु सडकमा आएका छन् । दुई समूहबीचको भिडन्त भएको हो ।

घटनामा एकजना प्रहरीको गोली लागी मृत्यु भएको छ । प्रदर्शनकारीले पेस्तोललगायत आधुनिक हतियारको समेत प्रयोग गर्न थालेका छन् । भिडन्तकारीहरुले पेस्तोलको समेत प्रयोग गर्न थालेपछि मानिसहरु त्रसित भएका छन् । मानिसहरु डरले घर छाड्न थालेका छन् । मस्जिदहरुमा समेत आक्रमण भएको जनाइएको छ ।

दिल्लीमा हिंसा बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय सरकारलाई सेना परिचालन गर्न आग्रह गरेका छन्।

उनले ट्विट गर्दै प्रहरीको सक्दो प्रयासबाट पनि शान्ति नभएपछि सेना परिचालन गरी कर्फ्यू जारी गर्नुपर्ने बताए।

साथै यसबारेमा गृहमन्त्री अमित शाहलाई सेना परिचालन गर्न पत्र लेख्ने उनले बताएका छन्।

नागरिकता कानुन समर्थक र त्यसको विरोधी पक्षले तरबार, ढुंगा र अन्य हातहतियारको प्रयोग गरेका थिए भने मौजापुर जफ्रावाद र अन्य क्षेत्रका कैयौं घर तथा सवारीसाधन समेत जलाइदिएका छन्।

भारतीय गृहमन्त्री अमित शाहले दिल्ली प्रहरीलाई तत्काल कारबाही अगाडि बढाउन र थप प्रहरी दल परिचालन गर्न आदेश दिएका थिए।

delhi unrest

हिंसा भड्किएपछि उत्तरपूर्वी दिल्लीको प्रभावित क्षेत्रमा प्रहरीले गोली चलाउने आदेश जारी गरेको थियो।

सरकार समर्थकहरूले ‘जय श्रीराम’ को नारा लगाउँदै कानुनको समर्थनमा ओर्लिएपछि दुई पक्षबीच झडप सुरू भएको हो।

सरकार समर्थकहरू नागरिकता कानुनको विरोध गरिरहेका मुसलमान समुदायमाथि आक्रामक देखिएका हुन्।

सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का नेता कपिल मिश्रले पछिल्लो दुई महिनाभन्दा बढी समयदेखि चलिरहेको नागरिकता कानुनविरोधी प्रदर्शन रोक्न प्रहरीलाई तीन दिनको अल्टिमेटम दिएपछि दिल्लीमा हिंसा भड्किएको अनलाइन पत्रिका स्क्रोल डटइनले लेखेको थियो।

शनिबार राति जफराबादमा भएको प्रदर्शनपछि उनले उक्त अल्टिमेटम दिएका थिए। करिब पाँच सय जना सहभागी प्रदर्शनमा अधिकांश महिला थिए।

उनले तीन दिनभित्र यो विरोध प्रदर्शन नरोकिए त्यसपछि आफूहरू प्रहरी कारबाहीको बाटो हेरेर नबस्ने चेतावनी दिएका थिए।

भाजपा नेताको यस्तो भनाइपछि नै आइतबारबाट नागरिकता कानुनका समर्थक सडकमा ओर्लिएका हुन्।

धार्मिक दंगाका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमण समेत ओझेलमा परेको छ । एजेन्सी

delhi unrest 3