१६ चैत्र २०८०, शुक्रबार

दिल्ली हिंसामा मर्नेको संख्या ३९ पुग्यो, युएनएचआरसीद्वारा चिन्ता व्यक्त

delhi unrest

उत्तर पूर्वी दिल्लीमा आईतवार देखि शुरु भएको हिंसामा परेर ३९ जनाको मत्यु भएको छ भने २०० भन्दा धेरै घाइते भएका छन् ।

उनिहरुको दिल्लीका बिभिन्न अस्पतालमा उपचार भईरहेको छ । आईतवारबाट हिंसाग्रस्त बनेका दिल्लीका बिभिन्न इलाकामा बिहीवार बेलुकादेखि भने शान्ति छाएको छ ।

हिंसामा परेर घाइते भएकाहरु मध्ये ३४ जनाको उपचारका क्रममा गुरु तेग बहादु्र अस्पताल, लोक नारायण जय प्रकाश अस्पतालमा ३ तथा जग प्रवेश चन्द अस्पतालमा १ जनाको मृत्यु भएको थियो ।

त्यस्तै आइबी अफिसर अमित शर्माको भने घटनास्थलमै मृत्यु भएको थियो । उनको टाउको र पेटमा चक्कु प्रहार गरिएको पोस्टमार्टमबाट थाहा लागेको हो । परिवारले अंकित शर्माको हत्या आम आदमी पार्टीका पार्षद ताहिर हुसेनले गरेको आरोप लगाएका छन् । शर्माको शव चान्दबाग इलाकाको एक नालीमा फेला परेको थियो ।

उनी आफ्ना छिमेकीको मद्दत गर्न घरबाट बाहिर निस्किएको बेला मृत्यु भएको थियो । अमितका परिवारहरुले हुसेनको घरबाट अंकित गायब भएको बताएका छन् ।दिल्ली पुलिसले हुसेनको घरबाट अत्याधिक मात्रामा पेट्रो बम तथा ढुङ्गा फेला परेको बताएको छ ।

अहिलेसम्म सरकारले १८ जनाबिरुद्ध एफआईआर मुद्दा दर्ता गरेको छ भने १०६ जनालाई पक्राउ गरेको छ ।

आम आदमी पार्टीले हुसेनलाई पार्टीबाट निलम्बित गरिदिएको छ ।

युएनएचआरसीद्वारा चिन्ता व्यक्त

संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् प्रमुख मिशेल बाचेलेट जेरियाले भारतमा नागरिकता कानुन संशाेधन र सांप्रदायिक हिंसाको घटनाप्रति चिन्ता व्यक्त गरेकी छन्।

जेनेभामा मानवअधिकार परिषद्को ४३औं सत्रमा संयुक्त राष्ट्रसंघ मानव अधिकार आयोगका उच्चायुक्तले विश्वभरि मानवअधिकारको अवस्था र त्यसमा भएको सुधारको बारेमा जानकारी दिए। जसमा भारतको मानवअधिकार उल्लेख गरिएको थियो।

भारत प्रशासित कश्मिरमा धारा २७० खारेज भएपछि साम्प्रदायिक हिंसामा मानिसकाे मृत्यु भएकाे प्रति पनि चिन्ता जनाइएकाे छ। मिशेल बाचेलेटले नागरिकता संशोधनविरूद्ध भारतमा सबै समुदायका मानिसहरुबाट विरोध भएको बताइन्।