१५ चैत्र २०८०, बिहीबार

अवकाश लगत्तै पार्टी प्रवेश गर्ने प्रवृत्ति प्रहरीमा !

sarbendra khanal 1

नेपाल प्रहरीको प्रमुख हुनु भनेको संगठनको नेतृत्व मात्रै हैन, मुलुकको सुरक्षा संयन्त्रको जिम्मेवार र साझा व्यक्ति हो । त्यस्ता व्यक्तिको निष्पक्षता र विज्ञता राज्यका लागि जुनसुकै बेला चाहिन सक्ने संविधानमै उल्लेख छ ।

तर पेशाको मर्यादा र दायरालाई उपेक्षा गरेर प्रहरी संगठनको उच्च नेतृत्व सम्हालेका अधिकृतहरु दलको झोला बोकेर हिड्ने प्रवृति बढ्दो छ । संगठन भित्र हुँदा राजनीतिक हस्तक्षेपविरुद्ध नबोल्ने, नेताको चाकडी गर्ने अनि अवकाशपछि आफै नेता भएर हिड्न मिल्छ ?

नेपाल प्रहरीमा ३० वर्ष सेवा गरेर महानिरीक्षकबाट अवकाश पाएका सर्वेन्द्र खनालले अध्यक्षको छहारी पाउने अपेक्षा गरेको भन्दै एमाले प्रवेश गरे । खनाल उनै व्यक्ति हुन, जो सेवाबाट अवकाश पाए लगतै गतवर्ष समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा मुछिएका थिए ।

अपराधीविरुद्ध कुनै सम्झौता गर्न नहुने वाचा सहित सेवा गर्ने प्रहरी अधिकृतलाई पूर्वमहानिरीक्षक जस्तो गौरवको पदभन्दा दलको झण्डा किन प्यारो भयो ?

संयोग बस खनाल एमाले प्रवेश गरकै दिन उनीसँगै प्रतिष्पर्धाका कारण आइजीपी बन्नबाट रोकिएका पूर्वडीआइजी रमेश खरेलले काठमाडौं- एक बाट निर्वाचन लडने घोषणा गरेका छन् ।

प्रहरीमा चर्चित भएर २९ वर्ष सेवा गरेका खरेलले आफैंले पार्टी समेत खोलेका छन् । प्रहरीमा हुँदा राजनीतिज्ञसँग कहिल्यै सम्झौता नगर्ने अधिकृतको उपमा पाएका खरेलले बर्दी छोडेपछि दल सुरक्षित ठाने ।

नेपाल प्रहरीको वर्दी छोडे पछि राजनीतिक बाटो रोज्ने खरेल र खनाल पछिल्ला पात्र मात्रै हुन । २०७३ सालमा राजनीतिक दाउपेचेकै कारण प्रहरी महानिरीक्षक बन्न रोकिएपछि नवराज सिलवाल एमालेबाटै राजनीति रोजे ।

police

महानिरीक्षक भैसकेका रविन्द्र प्रताप शाहलाई माओवादीले २०७० सालमा संविधानसभाको सदस्य बनायो । पूर्वमहानिरीक्षक ध्रुबबहादुर प्रधान राप्रपाको उपाध्यक्ष छन् ।

तत्कालिन प्रहरी महानिरीक्षक डीबी लामा कांग्रेसबाट २०५८ मा सहायकमन्त्री बनेका थिए । यस्तै मोतिलाल बोहरा, प्रदिपशम्शेर राणाले पनि दलीय राजनीति रोजेका हुन् । पूर्वप्रहरी महानिरीक्षको सेवा सुविधा लिएर दलको खोपीमा बस्न मिल्छ ?

प्रहरी संगठन नै राजनीतिको दलदलमा फस्दा नेतृत्वमा पुग्नेहरु नेता बन्ने गरेको देखिन्छ । त्यसो त प्रहरीमा भर्नादेखि सरुवा बढुवामा आफ्नो दलको रोज्ने प्रवृति छ ।

अनि नेतृत्व लिनेहरु संगठनमा हुँदा देश र जनताको हितभन्दा दल र नेताको स्वार्थ पुरा गर्न लाग्ने अवकाशपछि नेता बन्न जाने गरेको देखिन्छ । कानुन अभावले यो प्रवृतिलाई प्रोत्साहन गरेको छ । जुन नैतिकता, प्रहरी संगठन र मुलुककै लागि घातक हो ।