१४ बैशाख २०८१, शुक्रबार

कास्की र म्याग्दीका भूभागमा भारी वर्षा, खतराको साइरन बजाइयो

flood
फाइल फोटो

गण्डकी प्रदेशको कास्की र म्याग्दी जिल्लाका भूभागमा भारीवर्षा भएको छ । भारी वर्षा संगै उक्त क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।

कास्की जिल्लाको लुम्ले र म्याग्दी जिल्लाको घोरेपानी क्षेत्रमा भारी वर्षाभएसँगै खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी क्षेत्रमा अतिरिक्त वर्षा हुने सम्भावना भएकाले बाढी र पहिरो जाने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज रातिसम्मै उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।

महाशाखाले गण्डकी प्रदेशका कास्की र म्याग्दीसँगै, स्याङजा, बागलुङ, तनहुँ, गोरखा, लमजुङ भई बहने नदीहरुमा पानीको बहाव बढ्ने र बाढीको सतह सतर्कता आसपास पुग्न सक्ने भन्दै आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार यी दुई जिल्ला बाहेक नवलपरासीको अरुण खोला स्टेशन र चितवनको चरछरेमा समेत भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको छ । आज गण्डकी प्रदेशसँगै, प्रदेश नं. २, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

असार ३ गतेसम्म गण्डकी प्रदेशका नदी लगायत कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी लगायत लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदीहरुमा पानीको बहाव बढ्ने र बाढीको सतह सतर्कता आसपास पुग्न सक्ने भन्दै आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।