२६ बैशाख २०८१, बुधबार

‘प्रधानमन्त्रीजी भ्रष्टाचारीको अनुहार हेर्दिन भन्‍नुहुन्थ्यो, बालुवाटारमा ऐना छ कि छैन ? : गगन थापा

gagan thapa

‘प्रधानमन्त्रीको जन्मोत्सवले राजाको झल्को मेटायो’

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई आँखामा आँखा जुधाएर जवाफ दिनु पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद थापाले भने, ‘संसदमा प्रधानमन्त्रीले डाँडाकाँड घुमेर होइन, तालतलैया हेरर होइन, आँखामा आँखा जुधाएर जवाफ दिनु पर्छ ।’

प्रधानमन्त्रीलाई संसदमा उपस्थिति हुन रुलिङ गर्नु पर्ने उनले माग गरे । सेक्युरिटी प्रेसमा भएको घोटाला बारे थापाले भने, ‘प्रधानमन्त्रीलाई थाहा छैन भनेर कसरी पत्याउने? यो सेक्युरिटी प्रेसको कुरा मात्रै बाहिर आएको हो । अरु–अरु विषयमा पनि जवाफ दिनुपर्छ। एमसिसीलेबारे तपाईँलाई पार्टीका खाँटी राष्ट्रवादीले तह लगाइ दिएका छन्।’

प्रधानमन्त्रीले शक्तिको दुरुपयोग गर्दै व्यक्तिगत चाहना पूरा गरेकोमा नागरिकले व्यापक आलोचना गरेको थापाले स्मरण गराएका थिए । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडिओ प्रकरणबारे पनि थापाले टिप्पणी गरेका थिए ।

‘गोकुल बाँस्कोटा र विजय मिश्रको वार्तालाप हामीले सुन्यौँ । यो अडियो प्रधानमन्त्रीले पहिले नै सुन्नुभएको थियो भन्ने हामीले थाहा पायौँ । तर यसबारे संसदमा आँखा जुधाएर जवाफ दिने हिम्मत हुनुपर्छ,’ नेता थापाले भने ।

महिनाअघि सुनेको कुरा बाहिरिए पनि प्रधानमनत्रीले थाहा छैन भनेर उम्कन नपाउने उनको भनाइ छ। प्रधानमन्त्रीले यसबारे संसदमा आफ्नो धारणा राख्न उनले आग्रह गरे।

‘सेक्युरिटी प्रेसको ठेक्कालगायत सबै ठेक्काबारे प्रधानमन्त्रीलाई थाहा थियो। अहिले गोकुल बाँस्कोटालाई बलीको बोका बनाइएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहार हेर्दिन भन्नु भएको थियो। बालुवाटारमा ऐना छ कि छैन?’

यस्तै उनले प्रधानमन्त्रीका गतिविधिबारे नागरिक र आफ्नै कार्यकर्ताले समेत कडा आलोचना गर्न थालेको बताएका थिए । उनले प्रश्न गरे, ‘तपाईँलाई थाहा छ, नागरिक के भन्दैछन् ? फोर जी र स्याटलाइटको ठेक्कामा पनि करोडौं भ्रष्टाचार भएको छ । सम्मानमीय प्रधानमन्त्रीलाई सबै थाहा थियो, अहिले गोकुल बाँस्कोटालाई बलीको बोका बनाइयो भन्दैछन् । थाहा छ ?’

थापाले भने, ‘पहिले पहिले माक्सवादी, बीचमा समाजवादी आजभोलि यताबाट उताबाट हेरे पनि यतीवादी देखिनु भएको छ।’

प्रधानमन्त्रीले हेलिकप्टर चार्टर्ड गरी तामझामका साथ जन्मदिन मनाएको दृश्यले तत्कालिन राजा ज्ञानेन्द्र शाहको ‘न्यास्रो मेटाएको’ बताएका छन् ।

उनले प्रधानमन्त्रीको जन्मउत्सवबारे भने, ‘जन्मदिनबारे जनता के भन्दैछन्, थाहा छ? २०६०–६१ सालको राजाको झल्को मेटिएको छ। प्रधानमन्त्री ओेली वरिपरी रहेकाहरुले राजाका भारदारीको झल्को भेटाएका छन्।’

थापाले भने, प्रधानमन्त्री केपी शर्मा ओली मार्क्सवादी, समाजवादी नभई यतीवादी देखिएको आरोप लगाएका छन्। ‘पहिले पहिले माक्सवादी, बीचमा समाजवादी आजभोलि यताबाट उताबाट हेरे पनि यतीवादी देखिनु भएको छ।’