१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्रीलाई काँग्रेसको प्रश्न : विरोधी भए जेल जानुपर्ने गुटका भए माफी, प्रधानमन्त्री कुन लोकमा हुनुहुन्छ?

minendra rijal

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा भएका भ्रष्टाचारका काण्ड लाजमर्दा भएको बताएको छ।

काँग्रेस सांसद डा. मिनेन्द्र रिजालले मिनेन्द्र रिजालले सरकार र सरकारका मन्त्रीहरु नै भ्रष्टाचार प्रकरणमा मुछिएको बारे प्रधानमन्त्रीले संसदमा यथार्थ जानकारी दिनुपर्ने बताएका छन् ।

मङ्गलबारको संसद बैठकमा बोल्दै नेता रिजालले सेक्युरिटी प्रेस खरिद प्रकरण, वालुवाटार जग्गा प्रकरण, यति होल्डिङसलाई सरकारी जग्गा भाडामा दिने निर्णय लगायतका विषयमा सरकारले विरोधीलाई मात्रै जेल जान बाध्य पार्ने र आफ्नो पार्टी र निकटकाहरुलाई जोगाउने खेलमा लागेको भन्दै कसैलाई काखा र कसैलाई पाखाको व्यवहार गर्न छोड्न सुझाव समेत दिए ।

गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड कमिसनका लागि गरेको मोलमोलाइ, नेपाल ट्रष्टको जग्गा मनलाग्दी रूपमा यति कम्पनीलाई दिने र बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई प्रभावित पार्ने काम लाजमर्दा भएको बताए।

‘कमिसन धेरै आउने नाममा मन्त्रीले ठेक्का रकम बढाएको सुनिन्छ। सञ्चार मन्त्रालयमै खर्बौंका ठेक्का थिए। अप्टिकल फाइबर, थ्रीजी, फोरजी, स्याटेलाइट सबैमा भ्रष्टाचार छ,’ रिजालले भने,‘त्यही भएर अरू सबै तुलोको एकातिर गोकुल बाँस्कोटा एक्लै अर्कातिर भनेको होला।’

उनले वाइडबडी, न्यारोवडी जहाज खरिद प्रकरणदेखि संविधान संशोधनको विषयमा समेत प्रधानमन्त्रीको स्वार्थ लुकेको आरोप लगाए । उनले प्रधानमन्त्रीले लाखौ रकम र हेलिकोप्टर चार्टर गरेर जन्मोत्सव मनाउनुले नयाँ सम्राट बन्न खोजेको आभास भएको भन्दै एउटै मन्त्रालयमा खर्बौं भ्रष्टाचार भएका समाचार आएकाले कम्युनिस्ट सरकारका पालामा भएका यस्ता गतिविधिले लोकलाई हसाउने काम भएको बताए ।

प्रधानमन्त्रीले जन्मदिनमा चार हजार बृद्धबृद्धालाई सारी र कोट बाँडे बताउँदै रिजालले भने, ‘पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाई बाँडेर चित्त बुझाउनुपर्ने राजा महाराजालाई पनि इर्ष्या लाग्यो होला प्रधानमन्त्रीज्यू ।’

‘हिजो राजनीति गर्ने भए श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी । आज थरिथरीका श्रीपेच लगाएका कम्युनिस्ट आत्मजन मित्रलाई के भन्दै होलान मदन भण्डारी ?’

प्रधानमन्त्रीलाई काँग्रेसको प्रश्न : विरोधी भए जेल जानुपर्ने गुटका भए माफी ?

Posted by Nepal Ghatana on Tuesday, February 25, 2020

उनले व्याङ्ग्यात्मक शैलीमा ‘जनताले बुझेको र जनताले भोगेको सरकार भ्रष्टाचार नै भ्रष्टाचारमा रुमल्लिएको’ भन्दै यस्तो हुँदा पनि ‘सरकार र प्रधानमन्त्री कुन लोकमा हुनुहुन्छ’ भन्दै प्रश्न गरे ।

उनले सरकारका कामकारवाहीबाट जनता दिग्दार र निरास भएको भन्दै यस्तो बेलामा प्रधानमन्त्री भने राजसी ठाँटमा जन्मोत्सव मनाउन र आत्मरतिमा रमाउन व्यस्त रहेको बताए । ‘उनकै पार्टीका नेताले यस्तो सरकार चलाइरहेका बेला मदन भण्डारी अहिले के भन्दै होलान् ?,’ भन्दै प्रश्न गरे, ‘आजका कम्युनिस्ट पार्टीमा हिजोका राजाको नक्कल पसेको छ । संघीय लोकतन्त्रले ज्ञानेन्द्रलाई मात्र होइन प्रवृत्तिलाई पनि फालेको हो ?’

फराक प्रशंगमा, ‘पार्टीको झगडा व्यवस्थापन गर्न संविधान संशोधन गर्ने ?,’ रिजालको प्रश्न थियो । उनले सरकार गलत बाटोमा हिडेको भन्दै प्रतिपक्ष साँचो बाटो हिँड्न नछाड्ने बताए ।

‘प्रधानमन्त्री कुन लोकमा हुनुहुन्छ थाहा छैन। तर जनता तपाईंको सत्ताउन्माद देखेर निराश छन् प्रधानमन्त्रीज्यू,’ रिजालले भने।

आजको बैठक सुरू हुनासाथ कांग्रेस सांसदहरू उठेका थिए।

‘आज पनि केही छ र ?’ भन्दै सभामुख अग्निप्रसाद सापकोटाले रिजाललाई बोल्न दिएका थिए।