१३ बैशाख २०८१, बिहीबार

प्रदेश सरकारबाट सोनल सहित ४ जना बर्खास्त

4 minister of state 21621756263 750x375 1

प्रदेश २ को सरकारबाट भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई आइतवार अबेर राती सरकारबाट बर्खास्त गरिएको छ ।

जसपाको ठाकुर–महतो समुहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई मुख्यमन्त्री लालबाबु राउतले आइतवार अबेर राती हटाएको पत्र प्रदेश प्रमुख डा.राजेश झाको सचिवालयमा दर्ता गराएका छन् । प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रीमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गरे ।प्रदेश प्रमुखको सचिवालयले राती नै जारी गरेको विज्ञप्ति अनुसार मुख्यमन्त्री लालबाबु राउतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सम्हाल्नेगरि जिम्मेवारी तोकिएको छ ।विजय कुमार यादवलाई पूर्ववत नै आर्थिक मामिला तथा योजना मन्त्रालय, ज्ञानेन्द्र कुमार यादवलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, शैलेन्द्र साहलाई भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नवल किसोर साहलाई समाजिक विकास मन्त्रालय र रामनरेश राय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम रहेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरि योगेन्द्र यादव भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, उषा यादव आर्थिक मामिला राज्यमन्त्री र सरोज कुमार कुशवाहा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री यथावत रहेका छन् । मन्त्रीमण्डल सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार मुख्यमन्त्रीलाई रहेकाले पूनर्गठन गरिएको पत्र मुख्यमन्त्री कार्यालयबाट प्राप्त भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । प्रदेश २ मा पहिलो पटक मन्त्रीमण्डलमा परिवर्तन भएको छ ।बर्खास्त गरिएका सोनल मुख्यमन्त्री राउत र आर्थिक मामिला मन्त्री यादवसँगै सरकार गठन भएको पहिलो दिन सपथग्रहण गरेका थिए ।

तत्कालिन राष्ट्रिय जनता पार्टी(राजपा) संसदीय दलका नेता जितेन्द्र सोनलको नेतृत्वमा समाजवादी पार्टी(सपा)सित सत्ता साझेदारी गरिएको थियो ।नेता सोनलको नेतृत्वमा सरकारमा सहभागि समाजिक विकास मन्त्री नवलकिसोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव सरकारमा यथावत नै रहेका छन् । साह र यादवले हालै मात्र ठाकुर–महतो समुहबाट यादव समुहमा प्रवेश गरेका थिए ।त्यसकारण उनीहरुले निरन्तरता पाएका छन् । ठाकुर–महतो समुहका सोनल सहित ४ जनालाई सरकारबाट बर्खास्त गरिएसँगै पूर्व राजपासितको सपाको सहकार्य भंग भएको छ ।सरकारमा अब नेपाली काँग्रेस र माओवादी केन्द्र सहभागि हुनेछ । काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले आइतवार बिहान जसपा अध्यक्ष उपेन्द्र यादवसित सत्ता साझेदारीको विषयमा छलफल भएको थियो ।