७ बैशाख २०८१, शुक्रबार

नयाँ शैक्षिक सत्र असार १ बाटै

students
फाइल फोटो

भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मातहतका अधिकारीलाई निर्देशन दिनुभएको छ ।

वैकल्पिक विधिको प्रबन्ध गरेर भए पनि नयाँ शैक्षिक सत्र अगाडि बढाउनुपर्ने र त्यसका लागि तयारी गर्नुपर्ने निर्देशन मन्त्री श्रेष्ठले दिनुभएको हो । सरकारको यो निर्णयअनुसार अब कक्षा १० सम्म विद्यार्थीको नयाँ शैक्षिक सत्रको पठनपाठन असार १ गतेबाट सुरु हुनेछ । एसईई प्रक्रियामै रहेकोेले अहिलेको अवस्था कक्षा १० मै नयाँ र पुराना गरी दुई समूह छन् ।

मन्त्री श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल चाँडै प्रकाशन गर्ने व्यवस्था मिलाउनसमेत निर्देश गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको आन्तरिक मूल्याङ्कनलगायतको विषयमा स्पष्ट पार्न कार्यविधि बनाउने तयारी भइरहेको र कार्यविधि जेठ महिनाभित्र जारी गरिने जनाएको छ ।