१३ बैशाख २०८१, बिहीबार

जसपा प्रदेश २ ले मुख्यमन्त्री राउतलाई नै बनायो संसदीय दलका नेता

lal babu raut chief minister province

जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ ले मुख्यमन्त्री लालबाबु राउतलाई नै संसदीय दलको नेता चयन गरेको छ । पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा बसेको साँसदहरुको बैठकले राउतलाई संसदीय दलको नेता बहुमतको आधारमा चयन गरेको हो ।

मुख्यमन्त्री राउत तत्कालिन जनता समाजवादी पार्टीका संसदीय दलका नेता थिए । जसपाले संसदीय दलको नेतामा राउतलाई चयन गर्दा ३६ साँसदको उपस्थिति रहेको दावी गरिएको छ । तत्कालिन समाजवादी पार्टीको मात्र ३० साँसद छन् । यसले तत्कालिन राजपाका ६ साँसद उपेन्द्र यादव समूहमा लागेको स्पष्ट भएको छ ।

जसपाले उपनेता र सचेतक भने चयन गर्न सकेका छैन । सकभर आजै सहमती जुटाएर उपनेता र सचेतक पनि चयन गरेर प्रदेशसभा सचिवालयलाई जानकारी गराउने बुझिएको छ । उपेन्द्र यादव पक्षले जसपाको संसदीय दलका नेता चयन गर्दा तत्कालिन राजपा अर्थात् महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका साँसदहरु भने अनभिज्ञ रहेका छन् ।

जसपाले संसदीय दलका नेता चयन गरेसँगै अब पूर्व राजपाको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेको जितेन्द्र सोनल र तीन राज्यमन्त्रीलाई हटाउने तयारी थालिएको छ । उनीहरुलाई हटाएर नेपाली काँग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउने स्रोतको दावी छ ।