१४ बैशाख २०८१, शुक्रबार

मन्त्रीबाट हट्नासाथ प्रदीप ज्ञवालीले सार्वजनिक गरे सम्पत्ति विवरण

pradip gyawali
फाइल फोटो

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्री पदबाट हट्नासाथ आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत् ज्ञवालीले सवा तीन वर्ष मन्त्री रहँदाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । उनले विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको उल्लेख गरेका छन् । ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापतको लेभी ६ लाख २०,००० पार्टी खातामा जम्मा भएको ‘’, सामाजिक सञ्जालमा लेखेका छन् ।

पारिश्रमिकको कर कट्टी बापत ३,७२,८९१.१३ रुपैयाँ सरकारी कोषमा दाखिल भएको पनि ज्ञवालीले उल्लेख गरेका छन् । यसबाहेक आफ्नो बैंक खातामा सात लाख ४१ हजार ७७५.६० रुपैयाँ बचत रहेको पनि उनले उल्लेख गरेका छन् । मन्त्री रहँदा दुई सय जति पुस्तक थपिनु बाहेक सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको ज्ञवालीले प्रष्ट पारेका छन् । शनिबार बिहानै मन्त्री निवास छोड्ने जानकारी दिएका ज्ञवालीले शुक्रबार नै सवारी साधन र ल्यापटप बुझाएको उल्लेख गरेका छन् ।