१६ चैत्र २०८०, शुक्रबार

एसईई आन्तरिक मूल्याङ्कनबाटै, कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट

see
फाइल फोटो

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै हुने भएको छ । कक्षा १२ को परीक्षा पनि वैकल्पिक विधिको माध्यमबाट हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले एसईई विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै हुने भएपछि गृहकार्यसमेत त्यसैगरी अगाडि बढेको जानकारी दिनुभयो । एसईई विद्यालयमै जिम्मा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

विद्यार्थीको समयको सदुपयोग हुने तथा नयाँ शैक्षिक सत्रसमेत अगाडि बढ्न सहज हुने भएकाले एसईई र कक्षा १२ दुवैको निकास खोल्न लागिएको हो । कक्षा ११ को परीक्षा यसअघि नै विद्यालयलाई जिम्मा दिने निर्णय भइसकेको छ ।

अनुमति पाएगत्तै मूल्याङ्कन

परीक्षा सञ्चालनका लागि सरकारको अनुमति पाएलगत्तै प्रक्रिया सुरु गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना भाइरस सङ्क्रमण कायमै रहेको अवस्थामा पनि वैकल्पिक विधिबाट मूल्याङ्कन गर्न आफूहरूले प्रक्रिया सुरु गर्ने बोर्डका अध्यक्ष प्रा। चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

पुरानो मोडलको तीन घण्टाको परीक्षा हुने सम्भावना लगभग टरेको अवस्थामा विभिन्न विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्ने प्रस्ताव सरकारलाई पठाइएको उहाँले बताउनुभयो । वैकल्पिक विधि भन्नाले विद्यालय तथा शिक्षकमा आधारित भएर नै मूल्याङ्कन गर्ने योजना रहेको जानकारी उहाँले दिनुभयो । गत वर्षभन्दा फरक तरिकाको मूल्याङ्कन गर्ने मोडल आफूहरूले स्थापित गराउन चाहेको बोर्डका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।