१६ चैत्र २०८०, शुक्रबार

गल्ती गर्ने कसैलाई छुट छैन : प्रचण्ड

Prachanda 1

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन् ।

प्रेस सङ्गठन नेपाल नवलपुरद्वारा आज आयोजित पत्रकार सम्मेलनमा दाहालले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारे ।

“सञ्चारमन्त्रीको विषयमा आएको कुराका बारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले त्यो समस्या समाधानको विषयतिर गएको छ”, अध्यक्ष दाहालले भने, “अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौँ । म अहिले यति मात्रै भन्न चाहन्छु ।”

अध्यक्ष दाहालले अहिले चर्चामा रहेको एमसीसीबारे नेकपाले बनाएको अध्ययन कार्यदलले हिजो मात्रै दुवै अध्यक्षलाई प्रतिवेदन बुझाएको भन्दै आफूहरु सो प्रतिवेदन अध्ययनका क्रममा रहेको बताए ।

कार्यदलबाट आएको सुझावलाई परिमार्जन गरेर अगाडि बढिने भएकाले आफूहरुले अध्ययन गरिरहेको उनले बताए । रासस