१५ चैत्र २०८०, बिहीबार

एमसीसी कुनै बाइवल होइन, परिमार्जन गरेर अघि बढाउन सकिन्छ : प्रचण्ड

prachanda 1

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् ।

प्रेस संगठन नेपाल नवलपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले एमसिसी संशोधन गरेर अगाडि बढ्न सकिने बताएका हुन्। शुक्रबार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन गर्न सकिने उनले जिकिर गरे।

एमसिसीसँग तर्सिनुपर्ने कारण नभएको प्रचण्डको भनाइ छ। ‘एमसिसी कुनै बाइवल होइन, यसलाई परिमार्जन गरेर अघि बढाउन सकिन्छ‚’ उनले भने, ‘एमसिसी संशोधनको पक्षमा प्रधानमन्त्री ओली समेत सकारात्मक रहनुभएको छ।’

शुक्रबार मात्रै प्रधानमन्त्री ओलीले एमसिसीको विषयमा अमेरिकी टोली, दुवै पार्टी रिपब्लिकन र डेमोक्रेटिकको टोलीसँग छलफल गरेको जनाए। ‘हामीकहाँ केही कन्सर्न आए भने त यसलाई परिमार्जन गरेर, संशोधन गरेर पनि त लागू गर्न सकिन्छ’ उनले भने।

‘केन्द्रीय कमिटीको बैठकमा एमसिसी पूरै नेगेटिभ पनि होइन, चुपचाप पास गरिहाल्नुपर्छ भन्ने पनि होइन, राम्रोसँग बुझेर, अध्ययन गरेर यसलाई राष्ट्रको हितमा हुने गरी मात्रै टुंग्याउनुपर्छ भन्ने मत आएपछि हामीले कार्यदल बनाएको हो’ उनले भने। एमसिसी अहिलेसम्म दुई पटक संशोधन भइसकेको समेत जनाए। ‘कार्यदलले प्रतिवेदन बुझाएको छ। हामीले अध्ययन गरिसक्या छैनौं।

हिजो बेलुका मात्रै हामी दुई अध्यक्षले प्रतिवेदन बुझ्यौं। अब आजदेखि त्यसको अध्ययन हुन्छ। एक–दुई दिनभित्र सचिवालय बसेर यसलाई टुंग्याउँछ’ प्रचण्डले भने। वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उहाँले यस विषयमा समीक्षा गरेर अघि बढ्ने जनाए।

यस्तै, निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कमिसन मागेको अडियो बाहिरिएपछि प्रधामन्त्रीको निर्देशनबाटै राजीनामा दिन लगाएको जनाए। अनुसन्धान गर्नुपर्ने भएकाले सञ्चारमन्त्रीमाथि अनुसन्धानको प्रक्रिया अगाडि बढाइसकेको बताए।