१२ बैशाख २०८१, बुधबार

गोकुल बाँस्कोटालाई संरक्षण गर्ने प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : शेखर कोइराला

shekhakar koirala

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

आफ्नो मन्त्रिमण्डलका सदस्य यति ठूलो घुस प्रकरणमा फसेपछि गोकुल बाँस्कोटालाई संरक्षण दिने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।

नेता कोइरालाले राजनीतिमा नैतिकता महत्वपूर्ण हुने भन्दै प्रधानमन्त्रीले नैतिकता बुझेको भए तत्काल राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने बताए।

‘भ्रष्टचारीको मुख पनि हेर्दिन भन्ने, सुशासनका कुरा गरेर नथाक्ने प्रधानमन्त्रीले आफैँले बनाएका मन्त्रीको कमिसन बार्गेनिङको अडियो सार्वजनिक भएपछि नैतिकता देखाउनुपर्छ’, उनले भने, ‘उहाँले तत्काल राजीनामा दिनुपर्छ।’

वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको पुष्टि सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डले देखाइसकेको बताउँदै उनले सरकारमै रहेकाको संलग्नता देखिएकोले वर्तमान सरकार चलाउने नैतिक आधार प्रधानमन्त्री ओलीमा नभएको दावी गेर। ‘पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउँदा नै उत्तम हुन्छ,’ उनले भने।

सुशील कोइरालको स्मृतिमा डुडुवा गाउँपालिका ५ कम्दीस्थित विद्यालयमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा बोल्दै कांग्रेस नेता कोइरालाले कम्युनिष्ट भ्रष्टाचारी हुन्छन् भन्ने विभिन्न समयमा भएका घटनाले पुष्टि गरेको बताउँदै उनले कम्युनिष्टको ज्यादती कांग्रेसले नसहने स्पष्ट पारे। उनले सरकार र अख्तियार मिलेर बालुवाटारस्थित ललिता निवासको जमिन प्रकरणमा कांग्रेस निकट नेतालाई फसाइएको जिकिर गरे।

‘बालुवाटार प्रकरणमा सरकार र अख्तियार बीचको मिलेमतो हामीलाई स्वीकार्य छैन। निष्पक्ष छानविन गरेर कम्युनिष्ट निकटका नेतालाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ,’ उनले भने। अख्तियारले बालुवाटार जग्गा प्रकरणमा नीतिगत भनेर पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई छुट दिएको र कम्युनिष्टको नेता भएकै कारण कसैलाई जग्गा फिर्ता गर्दैमा छुट दिएको प्रति असन्तुष्टि जनाए। ‘देश अप्ठ्यारो अवस्थामा छ।

नेपाली कांग्रेसका लागि पनि कठिन दिन आइराखेको छ,’ कांग्रेस नेता कोइरालाले भने। उनले कम्युनिष्ट र मधेसी दलविरुद्ध एकजुट भएर लड्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिए।

नेता डा कोइरालाले १४औँ महाधिवेशनबाट काँग्रेसलाई गुट उपगुटमुक्त बनाउनुपर्नेमा जोड दिदैं महाधिवेशनको तयारीमा लाग्न पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले कुनै पनि अवस्थामा राजतन्त्र फर्कन नसक्ने बताउँदै आफूहरु बिपीको विचार, राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई अघि बढाएर लैजानपर्छ भन्ने कुरामा दृढ रहेको बताए ।

कांग्रेस नेताहरू गुट-उपगुटमा लागेको आरोपमा केही सत्यता भए पनि नेताहरू कम्युनिष्ट सरकारको ज्यादतीविरुद्ध एकजुट भएर लडेको ठोकुवा गरे। ‘तपाईँहरूले गरेका गुनासा केही हदसम्म ठिक छ। तर केन्द्रीय नेताले केही नगरेको गुनासोमा दम छैन,’ उनले भने। उनले खाने, बस्ने र उपचार व्यक्तिको नैसर्गिक अधिकार भएकोले यसको ग्यारेन्टी सरकारले लिनुपर्ने धारणा राखे।

‘कुनै पनि व्यक्ति पैसाको कारण उपचार गराउन नसकेर मर्न नपरोस अनि कुनै व्यक्ति खान नपाएर ज्यान गुमानउन नपरोस्,’ नेता कोइरालाले भने, ‘यसको ग्यारेन्टी सरकारले गर्नुपर्छ।’

स्वास्थ्य शिविरमा आँखा, कान र स्त्री रोगसम्बन्धी रोग जाँच र निशुल्क औषधि वितरण गरिएको शिविर संयोजक प्रदीप साहुले बताए। शिविरमा आएका सर्वसाधारणको कांग्रेस नेता कोइरालाले जाँच समेत गरेका थिए।

    सम्बन्धित समाचार...