१४ बैशाख २०८१, शुक्रबार

ठाकुर सहित चार जनालाई स्पष्टिकरण, प्रदेश २ मा १ मन्त्री सहित ४ हटने

jasapa
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवलाई पार्टी निर्णयलाई प्रमाणीकरण गर्ने अधिकार सर्वसम्मतीबाट निर्णय गरेकोछ ।

कार्यकारिणी समितिको शनिवार बसेको बैठकले पार्टीको आचरण बिरुद्ध गरेको कृयाकलापका लागि समितिले अध्यक्ष महन्थ ठाकुर , वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जनाए । ५१ सदस्यीय कार्यकारिणी समितिको बैठकमा ३० जना सशरिर उपस्थित रहेको र ३ जना जना भर्चुअल रुपमा सम्पर्कमा रहेको जनाउँदै अधिकारीले भने, पार्टीको निर्णय अनुसार कार्वाहीको प्रकृया अगाडी बढाइएकोछ । ‘स्पष्टिकरण सोधिएकाहरुले सन्तोषजनक जवाफ नदिए पार्टीबाट निलम्बन गरिनेछ ’ उनले भने, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि हुनेहरुलाई पार्टीबाट हटाइने निर्णय समेत भएकोछ । पार्टीमा पछिल्लो पटक भएको सहमति विपरित प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन साथ दिएको, पार्टीका नेताहरुलाई कारबाही गछौं भनेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको लगायतका पछिल्ला गतिविधिका कारण कारबाही थालिएको अधिकारीले बताए ।

उनकाअनुसार विधानअनुसार स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए निलम्बन वा निस्कासन गर्नेसम्म कारबाही हुनसक्छ । पार्टी बैठकमा ठाकुर–महतो समुहमा रहेको दावी गरिएका मध्ये ५ जना कार्यकारिणी समितिका सदस्यहरु सहभागि भएपछि थपपनि जाने आशंका गरिएकोछ । ठाकुर–महतो समुहका उच्च स्रोतले जनाए अनुसार सरकारमा आइतवार अथवा यसै हप्ता सहभागि हुने निश्चित रहेको छ ।‘पार्टी सम्पूर्ण रुपमा यादव समुहले कब्जा गरे’ उनले भने,क्षणिक स्वार्थका लागि हतारमा कामगर्दा सिंगो पार्टी नै गुमाउनु पर्यो ।जसपाको ८ र ९ गते दुई दिनकालागि बोलाइएको बैठक एक दिनमै सम्पन्न भएकोछ ।

प्रदेश सरकारबाट सोनल सहित ४ हटाइने

प्रदेश सरकारमा पूर्व राष्ट्रिय जनता पार्टी(राजपा) बाट भौतिक पूर्वाधार विकास मन्त्री रहेका जितेन्द्र सोनल, राज्यमन्त्रीहरु डिम्पला झा, अभिराम शर्मा र सुरेश मण्डल हटाइने भएकोछ । कार्यकारिणी समितिको बैठक लगतै अध्यक्ष यादवले मुख्यमन्त्री लालबाबु राउतलाई उनीहरुलाई हटाउन निर्देशन दिएका छन् । हाल प्रदेश २ मा पूर्व राजपाबाट मन्त्री बनेका रामनरेश यादव र नवलकिसोर साह यादव समुहमा लागेकाले उनीहरु जोगिएका हुन् ।