६ बैशाख २०८१, बिहीबार

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्ः गगन थापा

gagan thapa
फाइल फोटो

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई अँध्यारो सुरुङमा हालेको बताएका छन् ।

शनिबार ट्वीट गर्दै नेता थापाले लेखेका छन्, ‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिनेवाला छैनन् नेतागण नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।’

उनले अगाडि लेखेका छन्–‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद् ! विघटन, पुनःस्थापित संसद्को अपमान,विश्वासको मतको नाटक, ७६ (३)को सरकार गठन,विश्वास लिनुको सट्टा ७६ (५)को आव्हान, अनुकुल नभएपछि फेरि विघटन ! कस्तो सेटिङ ! प्रक्रिया त देखाउन मात्र थियो, यिनको मिसन त संसद् र संविधानको हुर्मत लिनु थियो । लिए !’

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि थापाले आक्रोश पोखेका हुन् ।