१४ बैशाख २०८१, शुक्रबार

माधव समूहको कोर टीमका ६ सांसदले भनेः हाम्रो हस्ताक्षर दुरूपयोग भयो

Surendra Pandey GhanashyamBhusal Yogesh Bhattarai and Gokarna Bista 1024x420 1

नेकपा एमालेको माधव नेपाल समूहका प्रभावशाली नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेपछि नेता नेपालसँग विद्रोह गरेका छन । गत पुस ५ गते प्रतिनिधि सभा विघटन हुने समयमा नेपाल पक्षमा ४४ सांसद थिए । देउवालाई प्रधानमन्त्री बनाउन शुक्रवार हस्ताक्षर गर्ने बेलामा नेपालसँग २० भन्दा कम सांसद उपस्थित भएका छन् । विपक्षी गठबन्धनले १४९ जनाको हस्ताक्षरमा नेपाल पक्षका २७ जना सांसदको नाम समावेश गरेपनि नेपाल पक्षका प्रभावशाली नेताहरूले आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको आरोप लगाएका छन् ।

नेपाल पक्षको कोर टीमका सदस्यहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र घनश्याम भुसालले शुक्रवार आफूहरूको हस्ताक्षर दुरुपयोग गरिएको आरोप लगाएका छन् । यससँगै उनीहरूले नेपालसँग कित्ताकाटको तयारी गरेको स्रोतले बतायो । पाण्डेले देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर नगरेको र पुरानो हस्ताक्षर दुरुपयोग गरिएको आरोप लगाएका छन् ।

नेपाल पक्षमा खुलेर लागेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पनि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । सांसदहरू नारायण खतिवडा र गणेश पहाडीले पनि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा आफूहरूको समर्थन नरहेको बताएका हुन् ।