६ चैत्र २०८०, मंगलवार

गोकर्ण विष्ट भन्छन्: ‘चौबाटोको बटुवा’ र ‘कुहिरोको काग’ सरकारको नीति कार्यक्रम

gokarna

नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण विष्टले सरकारको नीति तथा कार्यक्रमले समृद्ध नेपाल निर्माण गर्ने दिशाबोध नगर्ने दाबी गरेका छन् ।

उनले सरकारको नीति तथा कार्यक्रमलाई ‘चौबाटोमा बसेको बटुवा र कुहिरोका काग’ को संज्ञा दिए ।

‘हरेक वर्ष बजेट आउनु अगाडि सरकाले नीति कार्यक्रम प्रस्तुत गर्छ । यही परम्परालाई ध्यान दिँदै कार्यक्रम आएको छ । कार्यक्रममार्फत अग्रगामी परिवर्तनलाई बाटो देखाउने र समृद्ध नेपाल निर्माण गर्ने दिशाबोध गर्नुपर्ने थियो तर, नीति तथा कार्यक्रम चौबाटोमा बसेको बटुवा र कुहिरोको काग भएको छ’, विष्टले भने ।

नीति तथा कार्यक्रम विद्यमान गम्भीर समस्या र चुनौतीहरूलाई सामना गर्ने सन्दर्भमा फितलो भएको उनको टिप्पणी छ । कार्यक्रमले अर्थतन्त्रमा देखिएको सङ्‍कटलाई समाधान गर्न नसक्ने दाबी गरे ।

स्थानीय तह निर्वाचनमा सत्ता पक्षबाट शक्तिको दुरुपयोग गर्दै मतदातालाई प्रभावित पार्ने काम भएको उनको आरोप छ ।

उनले निर्वाचनमा खर्च अधिक हुने गरेको भन्दै अब क्रमशः प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिने बेला आएको पनि बताए ।